खजुरा, ५ पाैष – बाँकेको खजुरा गाउँपालिकाकाे ८ वटै वडामा स्वास्थ्य केन्द्रको पहुँच पुगेको छ । स्वास्थ्यको भवन नभएको खजुरा गाउँपालिकाको वडा नम्बर ६ मा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको सोमबार उदघाटन गरेसँगै सबै वडामा पहुँच पुगेको हो ।
खजुरामा १५ वेडको अस्पताल निर्माणाधीन अवस्थामा छ । नवनिर्मित भवनको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतीले उदघाटन गर्दै स्वास्थ्य केन्द्रदेखि अस्पतालसम्म निर्माण भएकोले खजुराका जनतालाई अन्यत्र जान नपर्ने बताए । उनले विकासको समान वितरण प्रणालीलाई अवलम्बन गर्दै पछाडी परेका वडालाई प्राथमिकतामा राखेको बताए ।
जनतालाई वडासम्मै स्वास्थ्यमा पहुँच पुगाउने उदेश्यले वडा नम्बर ६ मा पनि सेवा सुरु गरिएको हो । विगत १ वर्ष अघि निर्माण सुरु गरिएको भएपनि यस वर्ष भवन निर्माण सम्पन्न हुँदा सेवा सहित सुरु गर्न उदघाटन गरिएको गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष कक्षपतिले जनतालाई गरिएको वाचाहरु मध्य एक स्वास्थ्य सेवा पनि रहेकाले उक्त कार्यलाई पालिकाले प्राथमिकता दिएको बताए । उनले प्रत्येक वडाका जनतालाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य चौकीहरु सञ्चालन गरिएको उल्लेख गरे ।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले स्थानीय सरकारको मुख्य उद्देश्य भित्र स्वास्थ्य पनि रहेकाले सोही अनुरुप सेवा प्रदानलाई प्राथमिकता राखिएको बताए । प्रमुख प्रशासकीय अधिकृत खरालले आधारभूत स्वास्थ्य केन्द्रलाई पनि स्वास्थ्य चौकी सरहको सेवा दिन सक्ने गरी योजना बनाइएको र उक्त योजना कार्यान्वयनको क्रममा रहेको जानकारी दिए ।
स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलले नयाँ भवसँगै सेवा प्रवाहमा सहजता हुने बताए । उनले स्वास्थ्य शाखा प्रमुख पौडेलले स्वास्थ्यकर्मीले गुणस्तर स्वास्थ्य सेवा दिन तत्पर रहेको प्रतिबद्धता समेत जनाए ।
खजुरा गाउँ पालिकाका राजनीतिक सल्लाहकार भीम ओलीले खजुरा स्वास्थ्य सेवामा सक्षम रहेको बताउँदै जनप्रतिनिधि निर्वाचित भएपछि खजुरामा विकासको मूल फुटेको उल्लेख गरे । उनले स्वास्थ्य सेवालाई मुख्य ध्यान दिएको उल्लेख गर्दै खजुराले भौतिक संरचनालाई समेत ध्यान दिएकोले जनताले विकासको अनुभूति गर्न पाएको बताए ।
खजुरा गाउँपालिका वडा नं. ६ का अध्यक्ष साविर जोलाहाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्र ४६ लाख लागतमा निर्माण सम्पन्न भएको खजुरा गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए ।
खजुरा गाउँपालिका इन्जिनियर प्रकाश सिजापतिले सहजीकरण गरेको कार्यक्रममा वडा नं. ६ का वडा सदस्य जंगबहादुर कामी, जनसेवा मावि व्यवस्थापन समितिका अध्यक्ष वेचन चौधरीलगायतले स्वास्थ्य केन्द्रको उद्घाटनसँगै सुरु भएको सेवाले जनताको आधारभूत स्वास्थ्यमा पहुँच हुने विश्वास व्यक्त गरे ।