काठमाण्डौ, २८ मंसिर –चिनियाँ सामानको सस्तो हुन्छ भन्ने परम्परागत मान्यता अब तोडिन थालेको छ । गुणस्तरको विषयमा शंका भए पनि सस्तो हुने कारण सामान्य उपभोक्ताको रोजाइमा चिनियाँ सामान पर्ने गर्थे । तर, भूकम्प र कोरोनाका कारण नाकाहरूमा चीनले लगाएको अघोषित प्रतिबन्धले नेपालमा चिनियाँ सामानको मूल्य अत्यधिक वृद्धि भएको छ । व्यवसायीका अनुसार चीनबाट आउने रेडिमेड सामानको मूल्य शतप्रतिशतसम्म वृद्धि भएको छ ।
आयात गर्नुपर्ने सामान समयमै नाकामा नआउनु, खरिद गरेको समय र सामान आइपुग्ने समयमा डलरको मूल्यका कारण बढी लागत लाग्नु, चीनमा नै सामानको मूल्य बढ्नु, ढुवानी भाडा महँगो पर्नु, भन्सारको सन्दर्भमूल्यमा वृद्धि हुनुलगायत कारण चिनियाँ सामग्रीको मूल्य अत्यधिक बढेको व्यवसायीहरू बताउँछन् । व्यापारी धर्म पौडेलका अनुसार चीनमा जुत्ता–चप्पलमा ६० प्रतिशत र रेडिमेड सामानमा ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । सोही कारण साबिकको तुलनामा काठमाडौंमा सामान ढुवानी भइसक्दा ५० प्रतिशतभन्दा बढी मूल्य पर्ने उनको भनाइ छ । सोही कारण केही समयपहिला दुई हजारमा आउने ज्याकेटको मूल्य अहिले पाँच हजार पर्छ । उनले भने, ‘कोरोनाका कारण सामानको उत्पादन कम छ भने सामानको माग बढेपछि मूल्य बढाएका छन् ।’ आजकल चीनबाट नेपालमा कच्चा पदार्थ ल्याएर सिलाउने प्रचलन पनि बढेको छ । जसलाई व्यापारीहरू नेपाली सामान भन्छन् । यसले पनि मूल्य बढाउन भूमिका खेलेको उनको अनुमान छ ।
केरुङमै रोकिए सामान
चीनबाट नेपाल आयात गर्न लागिएको सामग्री चार महिनादेखि केरुङमै रोकिएको व्यापारी धर्म पौडेलले बताए । ‘केरुङमा चार महिनाअघिदेखिको सामान रोकिएर बसेको छ, सेप्टेम्बरदेखिको सामान लोड भएर नेपाल आउन सकेको छैन, जाडोका कपडा केरुङमै रोकिएर बसेको छ, उनले भने । उनका अनुसार अहिले स्याउ, लसुन भने रोकिएको छैन, तर लत्ताकपडा, इलेक्ट्रोनिक सामान भने रोकिएको छ । मुसा ट्रान्सपोर्टको मात्रै चार सयभन्दा बढी चिनियाँ कन्टेनर चार महिनादेखि केरुङको गोदाममा थन्किएको उनले बताए ।
कोरोनापछि चीनले कोटा प्रणालीमा सामान पठाइरहेको छ । केरुङबाट दैनिक चिनियाँ नौ कन्टेनर सामान नेपाल आइरहेको छ । केरुङबाट रसुवागढी नाकासम्म सामान ल्याउन ४६ वटा चिनियाँ कन्टेनर रहेका छन् । जसमध्ये दैनिक नौवटा मात्रै सञ्चालन हुन्छन् । कोरोना संक्रमण सुरुअघि सयभन्दा बढी नेपाली कन्टेनरमा सामान आयात हुन्थ्यो । चीनकोे गोन्जाओबाट २० देखि २३ दिनभित्र सामान नेपाल आइपुग्थ्यो । तर, अहिले दोब्बर समय लाग्छ ।
ढुवानी भाडा महँगो
कोरोनाअघिसम्म चीनबाट नेपाल सामान आयात गर्ने ट्रान्सपोर्ट कम्पनी थोरै थिए । अहिले सयभन्दा बढी ट्रान्सपोर्ट रहेका छन् । चीनको गोन्जाओदेखि रसुवागढीसम्म प्रतिसिबिएम नेपाली ११ हजार पाँच सय तिर्नुपर्ने हुन्छ । एउटा गाडीमा करिब ३५ सिबिएम सामान हुने गर्छ । एउटा कन्टेनर सामान नेपालको सिमानासम्म आइपुग्दा चार लाख दुई हजार पाँच सय रुपैयाँ ढुवानी तिर्ने गरिएको छ । रसुवागढीदेखि काठमाडाैं सम्मको नेपाली कन्टेनरको भाडा ८५ हजार छ । रसुवागढीमा चिनियाँ गाडीमा आएको सामान नेपाली गाडीमा पुनः लोड गरिएको, सिमानाबाट भन्सार यार्डसम्म सवारी ल्याएबापत चालकको भाडा गरी एक कन्टेनरबराबर १३ हजार पाँच सय तिर्नुपर्ने हुन्छ । त्यसैगरी, भन्सारमा प्याकिङ, लेबर चार्ज गरी १६ हजार तिर्नुपर्ने हुन्छ ।
कोरोनाअघिसम्म चीनको केरुङबाट काठमाडांैसम्मको ढुवानी एक लाख तिर्नुपथ्र्यो । व्यापारी पौडेलले भने, ‘केरुङबाट रसुवागढीसम्म सामान ल्याउन ट्रान्सपोर्टले महँगो लिँदैन, तर ट्रान्सपोर्टबाहेक अरू एजेन्ट लगाउँदा महँगो पर्छ ।’ उनका अनुसार ट्रान्सपोर्टमार्फत सामान चार महिनामा पनि नेपाल आइपुग्दैन । सोही कारण महँगो ढुवानी मूल्य तिरै भए पनि एजेन्टमार्फत सामान ल्याउनुपर्ने बाध्यता छ । केरुङमा ट्रान्सपोर्टबाहेक अन्य एजेन्टसँग काम गराउँदा पाँच गुणासम्म महँगो पर्ने व्यवसायीहरू बताउँछन् । छिटो सामान ल्याउन एक सिबिएमबराबर करिब २० हजार बढी तिर्नुपर्ने हुन्छ । यसले एक कन्टेनर सामानको मूल्य सात लाख रुपैयाँभन्दा बढी पर्ने हुन्छ ।
पलायन हुन थाले व्यवसायी
रसुवागढी नाकाबाट सामान आयातमा असहज भएसँगै व्यवसायी पलायन हुन थालेका छन् । कोरोना महामारीअघि रसुवागढी नाकाबाट ४० भन्दा बढी भन्सार एजेन्टले चीनबाट आयात हुने सामानको कारोबार गर्थे । अहिले करिब १० जना मात्र रहेको बताइएको छ । पलायन भएका व्यवसायीहरूमध्ये केही अन्य नाकाबाट कारोबार गर्न गएका, केही जग्गा प्लटिङको काम गर्ने गरेका, केही कृषिलगायतमा लागेका र केहीले वैकल्पिक पेसा अपनाएका व्यापारीहरू बताउँछन् ।
मारमा उपभोक्ता
काठमाडौं, सोह्रखुट्टेनिवासी प्रकाश सुनुवार चिनियाँ सामान सस्तोमा पाइन्छ भन्ने भ्रम हटिसकेको बताउँछन् । कम गुणस्तरको सामानका लागि पनि बढी मूल्य तिर्नुपर्दा पैसा खेर गएको उनको अनुभव छ । नुवाकोटका अर्जुन न्यौपानेले पनि यसपालि दसैँ र जाडोयामका लागि आफ्नो परिवारलाई किनेको कपडामा बजेट दोब्बर लागेको बताए ।
रसुवागढी नाकाबाट हुने चीनसँगको व्यापार प्रभावित भएको दुई वर्ष पुग्न लागेको छ । कोरोना महामारी सुरु भएपछि खुम्चिएको नेपाल–चीन व्यापार अझै सहज हुन सकेको छैन । संक्रमण सुरु भएयता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ । १५ माघ ०७६ देखि २२ जेठ ०७७ सम्म नाका बन्द भयो । त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको हो । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । अहिले रसुवागढी नाकाबाट चिनियाँ नौवटा कन्टेनरमा सामान आयात भइरहेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् ।