
नेपालगन्ज, १९ मंसिर – १८ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयसेविका दिवस–२०७८ को अवसर पारेर नेपालगन्ज उपमहानगरपालिकाले उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकाहरुको सम्मान गरेको छ ।
नगरका २३ वटा वडामा कार्यरत मध्ये २३ जनालाई दिवसको अवसरमा सम्मान गरिएको हो । दिवसको अवसर पारेर नेपालगञ्ज उपमहानगरपालिका कार्यालयबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीपछि आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाह, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द लेखा अधिकृत लोकेन्द्र रावत लगायतले महिला स्वास्थ्य स्वयम् सेविकाहरुको सम्मान गर्नुभयो ।

सो अवसरमा जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले स्वास्थ्य क्षेत्र सुधारका लागि महिला स्वास्थ्य स्वयम् सेविकाहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नेपालको ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरुका लागि आवश्यक प्रोत्साहन लगायतका सेवा सुविधा थपका लागि उपमहानगरपालिकाले पहल गर्ने बताउनुभयो ।

महिला स्वास्थ्य स्वयमसेविका संघका अध्यक्ष मनकुमारी सिलवालले कठिन अवस्थामा पनि घरघरमा पुगेर सेवा दिएको भन्दै आफुहरुका लागि राज्यले जीवनयापनका लागि ध्यान दिनुपर्ने माग गर्नुभयो । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख चन्दका अनुसार नगरमा १६८ जना स्वास्थ्य स्वयमसेविकाहरु कार्यरत रहनुभएको छ ।
