
नेपालगन्ज, १२ मंसिर – नेपालगन्जबाट जाजरकोटका लागि छुटेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । नेपालगन्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
दुर्घटनामा परेर मृत्यु भएकामध्ये तीन जनाको सनाखत भएको छ । आठबिसकोट नगरपालिका रूकुमकी ४ वर्षीया दिब्या शाही, नलगाड नगरपालिका–१० का शेरबहादुर परियार र सप्तरीका ४० वर्षीय गंगाराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा परेर २७ जना घाइते भएका छन् । बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना स्थलबाट जाजरकोट सदरमुकाम पुग्न करिब १० किलोमिटर छ । मृतकहरुमध्ये २ जनाको सनाखत भइसकेको छैन । दुर्घटनामा परेर नेपालगञ्जका २५ वर्षीय मोहन खत्री, प्रकाश थापा, जाजरकोटको बारेकोट गाउँपालिका–९ का संगीता बुढा, कालीबहादुर बोहरा, मनिषा बोहरा, वडा नम्बर ७ का प्रेम सिंह, वडा नम्बर ६ का कमल चलाउने, वडा नम्बर १ का खम्बप्रसाद पुन घाइते रहेका छन् ।
जाजरकोटको नलगाड नगरपालिका–१० का अमित ध्यार, अमित धामी, अमर दमाई, वडा नम्बर ४ का हजारी वली, वडा नम्बर १ का अभिषेक परियार, वर्षा परियार, विपना परियार पनि घाइते रहेको प्रहरीले जनाएको छ ।
रुकुमको आठविसकोट नगरपालिकाका धर्मी मल्ल, जयकुमार रिजाल, सरोजचन्द्र शाही पनि घाइते छन् । साथै जाजरकोटको कुशे गाउँपालिका–९ का गिता नेपाली, गणेश नेपाली, कोहलपुरका शेरबहादुर खत्री, रुकुमाको चौरजहारी नगरपालिकाका रमेश विष्ट, सप्तरीका हिरनजित यादव उक्त दुर्घटनामा घाइते छन् ।
घाइतेहरूमध्ये रेम्बो पुन र आस्या वलीको ठेगाना खुलेको छैन ।
