Tuesday, April 21सत्यम खबर
Shadow

डुडुवामा जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष विशेष कार्यक्रम शुरु

डुडुवा, ५ कार्तिक – डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष विशेष कार्यक्रम शुरु गरेको छ ।

गाउँपालिका अन्तर्गत रहेका जेष्ठ नागरिकहरुको घरमा पुगेर स्वास्थ्य उपचार तथा स्याहारका लागि यो कार्यक्रम शुरु गरिएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज शुक्रबार वडा नंं. २ को होलियास्थित खडैचा गाउँका जेष्ठ नागरिकलाई सेवा कार्ड वितरण गर्दै शुभारम्भ गर्नुभयो ।

शुभारम्भ गर्दै अध्यक्ष चौधरीले जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार तथा स्याहार सहितको सेवा उपलब्ध गराउने बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो–‘जेष्ठ नागरिक विरामी छन् भने स्वास्थ्यकर्मी घरमै पुग्छन् र घरमै उपचार गर्छन् । त्यहाँ सम्भव नभए गाउँपालिकाको स्वास्थ्य केन्द्रमा ल्याएर उपचार गर्छन् दुई–तीन दिन राख्दा पनि निको नभए नेपालगन्जको भेरी अस्पतालमा लगेर उपचार गरिन्छ । उपचारमा लाग्ने सबै खर्च गाउँपालिकाले व्यहोर्छ ।’

उहाँले गाउँपालिका अन्तर्गत रहेका सम्पुर्ण जेष्ठ नागरिकसँग स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य परिक्षण, औषधी वितरण, ल्याब टेस्ट, एम्बुलेन्स सेवा, तथा विशेषज्ञसहितको स्वास्थ्य सेवा निशुल्क रुपमा उपलब्ध गराउने बताउनुभयो । गाउँपालिकाले दलित, अशक्त तथा एकल महिलाको हकमा ६० वर्ष र अन्यको हकमा ७० वर्ष पुगेका नागरिकहरुलाई यो सेवा दिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको वार्ड १ देखि ६ सम्म ७० वर्ष पुगेका एक हजार दुई सय ७२ जना छन् भने ६० वर्षलाई समेट्दा दुई हजार एक सय ३५ जना छन् । हाम्रो सामाजमा जेष्ठ नागरिकलाई घरपरिवारबाट सम्मान नगर्ने, शारिरीक अस्वस्थता, र उनीहरुको मानसिक समस्याको अन्त्य गर्नका लागि यो कार्यक्रम लागु गरिएको हो । आजदेखि सबै जेष्ठ नागरिकका घर घरमा पुगेर स्वास्थ्य परिक्षणसंगै स्वास्थ्य सेवा कार्ड वितरण गर्न शुरु गरिएको हो । गतवर्षबाटै शुरु भएको यो कार्यक्रम कोभिड–१९ का कारण प्रभावित भएको थियो भने यस वर्षदेखि प्रभावकारी रुपमा अघि बढाइनेछ ।

सो कार्यक्रमका लागि गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाको बेतहनी स्वास्थ्य चौकीमा ५ बेडको सुविधा सम्पन्न जेष्ठ नागरिक उपचार तथा स्याहार केन्द्र पनि स्थापना गरिएको छ ।

गाउँपालिकामा ८ वटा स्वास्थ्य एकाइ रहेको छ भने तीन स्थानमा निशुल्क प्रयोगशालामार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले विगतका वर्षदेखि नै घर घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गरेपनि अहिले स्वास्थ्य क्षेत्रमा राम्रो सुधार भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले गरेको मुल्यांकनका आधारमा अहिले डुडुवा बाँके जिल्ला मै स्वास्थ्य क्षेत्रमा पहिलो भई उत्कृष्ट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *