
नेपालगन्ज, २१ असाेज – प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक रोयल नेपालगन्ज फुटबल क्लवले जितेको छ । न्यू डाँफे स्पोर्टस क्लवलाई २–० गोलले पराजित गर्दै रोयलले उपाधी जितेको हो ।
प्रतिस्पर्धात्मक खेलमा रोयलले ५८ मिनेटमा विभुषण केसीको गोलबाट अग्रता लिएको थियो । डीएरिया बाहिरबाट हानेको फ्रिकिक बललाई न्यू डाँफेका किपर प्रकाश बुढाले समात्न नसकेर फुस्काएपछि केसीले गोल गरेका थिए । एक गोल लागेपछि न्यू डाँफेले रणनीति परिवर्तन गरेको थियो । मेन डिफेन्स खेलिरहेका कृष्ण रानाभाट अगाडि बढेका थिए । त्यसको फाइदा रोयलले उठायो । रोयलले १० मिनेटपछि नै अर्को गोल थप्यो । रोयलका यमबहादुर बुढाथोकीले ६८ मिनेटमा गोल गरे ।
प्रतियोगिताका अन्य खेलमा आक्रमक खेल खेलेको न्यू डाँफेले फाइनलमा त्यस्तो प्रदर्शन गर्न सकेन । उसले पोष्ट चार्ज गर्न नै सकेन । फाइनल खेलको म्यान अफ द म्याच विभुषण केसी भए । उनलाई नेकपा एमाले, बाँकेका अध्यक्ष निरक गुरुङले पुरस्कृत गरेका थिए ।
प्रतियोगिताको उपाधी जितेसँगै रोयलले एक लाख एघार हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । द्वितिय हुने न्यू डाँफेले ५१ हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाएको छ । १४ वटा क्लवले भाग लिएको प्रतियोगिताको बेष्ट किपर रोयलका प्रितम खड्का, उत्कृष्ट खेलाडी रोयलका मनिष थापा र हाइस्कोरर रोयलकै विभुषण केसी भए ।
प्रतियोगिताको विजेता, उपविजेता, उत्कृष्ट खेलाडी, हाइस्कोरर, उत्कृष्ट किपरलाई श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, नेकपा एमाले, बाँकेका अध्यक्ष निरक गुरुङ, रोयलका अध्यक्ष सूर्यमणि अधिकारी, पर्यटन प्रवद्रर्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, क्लवका सल्लाहकार किसन गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।
नेपालगन्ज रंगशालामा दुई वर्षपछि फुटबल प्रतियोगिता भएको थियो । आठौं राष्ट्रिय फुटबल प्रतियोगिता र प्रदेशस्तरीय फुटबल प्रतियोगिता भएपछि नेपालगन्ज रंगशालामा फुटबल प्रतियोगिता भएको थिएन । दुई वर्षमा नेपालगन्ज रंगशालामा घाँस बढेर झाडी भएको थियो ।
नेपाली सेनाको भैरवप्रसाद गणले रंगशालाको काट्ने र प्याराफिटको सरसफाई गरेपछि पहिलो पटक नेपालगन्ज रंगशालामा क्लव स्तरीय फुटबल प्रतियोगिता भएको छ । आठौं राष्ट्रिय फुटबल प्रतियोगितापछि पहिलो पटक रंगशालामा बाँकेका खेलाडीले प्रतियोगिता खेल्न पाएका हुन् । आठौंका लागि रोपिएको बर्मुडा दुबो मासिने भन्दै रंगशालामा फुटबल खेल्न प्रतिबन्ध लगाइएको थियो ।
