Sunday, April 26सत्यम खबर
Shadow

जानकीमा बजार अनुगमन, म्याद गुज्रेको खाद्यय र मदिरा नष्ट

जानकी, २१ असाेज – बाँकेको जानकी गाउँपालिकाले चाडपर्वको समयमा हुन सक्ने मूल्य वृद्धि तथा कालो बजारीलाई मध्यनजर गरी बजार अनुगमन गरेको छ ।

बिहीवार गाउँपालिकाको वडा नं. ६ स्थित पिप्रहवा बजारमा अनुगमन गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । अनुगमनका क्रममा म्याद नाघेका उपभोग्य वस्तु, अखाद्यय तेल, दर्ता नगरेरै मदिरा तथा सुर्तीजन्य वस्तुको बिक्री वितरण गरेको पाईएको उहाँले बताउनुभयो ।

पिप्रहवास्थित खुद्रा किराना एण्ड खाद्य स्टोर, प्रमोद गुप्ता स्टोर एण्ड सप्लायर्स, सुवोध स्टोर र रौनक जनरल स्टोरमा अनुगमन गर्दा १४ हजार २ सय ११ बराबरको म्याद गुज्रेको खाद्यय पदार्थ र अनुमति नलिईकिन बिक्री वितरणको लागि राखिएको ४ हजार बराबरको मदिरा र सुर्तीजन्य पदार्थ जफत गरेर नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका महेश्वर पौडेल, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका विवेक सुवेदी, वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण कार्यालयका चौलागाई, उपभोक्ता हित संरक्षण मञ्चका बसन्त गौतम, इलाका प्रहरी कार्यालय खजुराखुर्दका इन्चार्ज प्रहरी नायव निरीक्षक रुद्रबहादुर रावल सहितको टोलीले बजार अनुगमन गरेको जानकी गाउँपालिका बजार अनुगमन समितिका संयोजक जितबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बिहीवार पिप्रहवा बजारका किराना पसल सँगै अन्नपूर्ण भोजनालय, पाल ट्रेडर्स, मेडिकल लगायत १० वटा पसलको अनुगमन भएको थियो । अनुगमनका क्रममा धेरै पसल र व्यवसायीलाई सचेत गराईएको छ ।

चाडपर्वको बेला उपभोक्ता ठगिन नदिनको लागि गाउँपालिकाले नियमित रुपमा अनुगमन कार्यलाई निरन्तरता दिने प्रमुख प्रशासकीय अधिकृत रानाले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *