
नेपालगन्ज, २० असोज – जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा ६६ औं प्रहरी दिवस २०७८ भब्यताका साथ आज बुधबार सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेको स्वागत मन्तब्यबाट शुरु गरिएको कार्यक्रमको प्रमुख अतिथि बाँके जिल्ला प्रमुख शिवराम गेलाल रहेका थिए भने प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त शुभकामना सन्देश जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले वाचन गर्नु भएको थियो ।
सो अवसरमा पुर्व प्रहरी, अशक्त अवकाश प्राप्त प्रहरी, अमर प्रहरी परिवार तथा संचारकर्मी, नागरिक समाज, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, ससस्त्र प्रहरी बलका स.प्र.उ. अशोकबहादुर बम, नेपाली सेनाका प्रमुख सेनानी जनमत कार्की, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख नरेन्द्रराज गिरी लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा पुर्व प्रहरी कर्मचारीको तर्फबाट पुर्व प्रहरी नायव उपरीक्षक जोतिप्रसाद श्रेष्ठ, अमर प्रहरी परिवारको तर्फबाट श्रीमती एकमाया बिश्वकर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । उक्त अवसरमा अमर प्रहरी स्मारकमा प्रमुख अतिथिबाट पुष्पहार अर्पण पश्चात उपस्थित सम्पुर्णले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।
उक्त कार्यक्रममा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईका प्रहरी कर्मचारीहरुलाई तथा प्रहरी कार्यमा सहयोग गर्ने र जग्गादाताहरुलाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकबाट प्राप्त कदर पत्र प्रदान गरिएको थियो ।
अमर प्रहरी परिवारजनलाई दोसल्ला ओढाई प्रमुख अतिथिले सम्मान गर्नु भएको थियो । साथै ६६औं प्रहरी दिवस २०७८ को अवसरमा बिभिन्न बिधामा सञ्चालन गरिएको ब्याडमिन्टन, टेबल टेनिस, कुर्सि दौड प्रतियोगिता सञ्चालन गरिएकोमा खेलकुदमा प्रथम, द्वितीय, तृतीय हुनेलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।
सोही अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा तयार पारीएको पुस्तक लागू औषध विरुद्धको निस्तेज अभियान २०७७÷०७८ को उपस्थित अतिथि महानुभावहरुबाट संयुक्त रुपमा बिमोचन गरिनुका साथै उपस्थित सम्पुर्णमा निःशुल्क बितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्र.जि.अ. गेलालले नेपाल प्रहरीको गर्विलो ईतिहास र सुनौलो भबिष्य रहेको र जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने बिश्वास समेत ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अधिकारीले धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी बिर तथा अमर प्रहरीले देखाएको मार्गमा सधैं अडिक भएर लाग्ने र जनअपेक्षा पुरा गर्नका लागी जस्तो सुकै कठोर निर्णय लिन पनि तयार रहेको बताउनु भएको थियो । प्रहरी निरीक्षक ईश्वर देव गिरीले सञ्चालन गरेको उक्त कार्यक्रम समापन पश्चात दिवा खाना तथा प्रहरी पुनर्मिलन कार्यक्रम रहेको थियो ।








