
नेपालगन्ज, १४ असोज – रोयल नेपालगन्ज फुटबल क्लवले आयोजना गरेको ‘प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिता’मा १४ वटा क्लवले भाग लिएका छन् ।
क्लवले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी दिएको छ । प्रतियोगिता शुक्रबारदेखि नेपालगन्ज रंगशालामा शुरु हुँदैछ ।
क्लवका अध्यक्ष सूर्यमणि अधिकारीका अनुसार, न्यू भगवती क्लव, जानकी गाउँपालिका, सिटी युथ क्लव कोहलपुर, युनाइटेड क्लव नेपालगन्ज, न्यू डाँफे स्पोर्टस क्लव खजुरा, कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण नेपालगन्ज, सनलाइट युथ क्लव हसनापुर, हेल्थ बिनिफिटनेस नेपालगन्ज, मोडेल टीम सीगाउँ, धम्बोझी क्लव, नेपालगन्ज, नव दुर्गा युथ क्लव कम्दी, साइनिङ स्टार युथ क्लव भैरवप्रसाद गण, राँझा, रेसिङ साहरा क्लव कोहलपुर र रोयल नेपालगन्ज फुटबल क्लव, नेपालगन्जले प्रतियोगितामा भाग लिएका छन् ।
प्रतियोगिताको विजेतालाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ र द्वितिय हुनेलाई ५१ हजार एक सय एघार रुपैयाँ, मेडल, ट्रफी र प्रमाण–पत्र दिइने छ ।
बाँके जिल्लाका खेलाडीलाई फोकस गरेर प्रतियोगिता आयोजना गरिएको क्लवका महासचिव दीर्घराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा भाग लिने सबै खेलाडी बाँके जिल्ला निवासी हुन्छन् । यस प्रतियोगिताले बाँके जिल्लाको फुटबल टीम बनाउन सघाउ पु¥याउन सक्छ ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका सांसद एवं ओलम्पियन सुरेन्द्र हमालले शुक्रबार दिउँसो २ बजे गर्ने तय भएको छ ।

