Tuesday, April 21सत्यम खबर
Shadow

विद्यार्थीहरुलाई सूचनाको हक सम्वन्धी अभिमुखीकरण

नेपालगन्ज, १२ असोज – आज २८ सेप्टेम्बर सूचनामा विश्व व्यापी पहुँच अन्तर्राष्ट्रिय दिवस नेपालगन्जमा पनि मनाइएको छ । सूचनामा सबैको पहुँच तथा थाहा पाउने अधिकार अन्तर्गत दिवसको सम्झनामा सूचनाको हकलाई कार्यन्वयनमा जोड दिइएको हो ।


दिवसको अवसरमा नेपालगन्जको निम्बल क्लेजका युवा विद्यार्थीहरुलाई सूचनाको हक सम्बन्धी एक दिने अभिमुखीकरण गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सूचनाको हकका बारेमा सबैले थाहा पाउने भनेर अभिमुखीकरण गरेको हो ।


अभिमुखीकरणमा करिब ४७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सूचना अभियन्ता अधिवक्ता विश्वजित तिवारीले सूचनाको हक, यस सम्वन्धीको कानूनी व्यवस्था, र कार्यान्वयनको अवस्था लगायतका बारेमा जानकारी गराउनु भएको थियो । अभिमुखीकरणमा निम्बल कलेजका सञ्चालक सुनिलकुमार गुप्ता, प्रिन्सीपल शतिस थापा, संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, कार्यक्रम संयोजक टेकनाथ आचार्य, सूचना अभियन्ता शैलेन्द्रकुमार बैश्य लगायतले बोलेका थिए ।


संस्थाले सूचनाको हक सम्बन्धी ऐन २०६४ लाई कार्यान्वयन गर्न सरोकारवालासंग पहल गर्दै आएको छ । बाँके जिल्लामा अझै पनि ऐन पूर्ण रुपमा कार्यान्वयन भएको पाइन्दैन । सूचनाको हक सम्बन्धी प्रचार प्रसार तथा दबाब अभियान सञ्चालन भएपछि सार्वजनिक निकायहरुले सूचना अधिकारी तोक्ने, सूचनाको हकका बारेमा निवेदन दर्ता गर्ने र सूचना उपलब्ध गराउन थालेको सूचनाको हक जिल्ला अनुगमन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *