Sunday, April 12सत्यम खबर
Shadow

बाँके जिल्ला वन्यजन्तुको ओसारपसार तथा व्यापारको मुख्य केन्द्र

नेपालगन्ज, ४ असोज – वन्यजन्तु संरक्षणमा समुदायमा आधारित चोरी शिकारी नियन्त्रण इकाई (सिबिएपियु) को भूमिका विषय अन्तक्र्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न गरिएको छ ।
जिल्ला वन कार्यालय बाँकेद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले जिल्ला भित्र हुने वन्यजन्तु चोरी शिकारीमा युवाहरुको महत्वपूर्ण भूमिका हुने भएकोले नियन्त्रणतर्फ उनलाई अगाडी ल्याउनु पर्ने बताएका थिए ।


वन्यजन्तु व्यवस्थापनको प्रमुख चुनौतिको रुपमा बासस्थानको विनास, खण्डीकरण, वन बिनास र चोरी शिकारी तथा अवैध व्यापार रहेको छ । विश्वव्यापी तथ्यांकलाई हेर्ने हो भने वन्यजन्तुको आखेटोपहार बिक्री संसारको चौथो ठ्रूलो अवैध व्यापारको रुपमा स्थापित भएको छ । यो सबै संरक्षणकर्मीको गम्भिर चिन्ताको विषय भएको जानकारी गराउँदै पछिल्लो समय नेपाल सरकार, नेपाली जनता अनि विभिन्न संघसंस्थाले वन्यजन्तु संरक्षणमा गरेको लगानीले विश्वमै वन्यजन्तु राम्रो व्यवस्थापन गर्ने देशको रुपमा त चिनिएको छ तर यो सँगसँगै अवैध चोरी शिकारीको कारण पनि ठूलो टाउको दुखाईको विषय बनेको जिल्ला वन कार्यालयका अधिकृत गणेशबहादुर खड्काले जानकारी गराएका थिए ।


कार्यक्रम सञ्चालक तथा वन अधिकृत खड्काका अनुसार बाँके जिल्ला वन्यजन्तुको आखेटोपाहार ओसारपसार तथा व्यापारको मुख्य केन्द्रको रुपमा प्रयोग हुँदै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा चोरी शिकारी के हो ? सरकारी भूमिका र कानूनी प्रावधान के छ ? समुदायमा आधारित चोरी शिकारी नियन्त्रण इकाई के हो ? चोरी शिकारी नियन्त्रण इकाईका मूल उद्देश्यहरु के के हुन ? सामुदायिक वन स्तरमा समुदायमा आधारित चोरी शिकारी नियन्त्रण इकाई गठन गर्ने कार्यविधि के हो ? चोरी शिकारी नियन्त्रणमा समुदायको भूमिका कसरी निर्वाह गर्न सकिन्छ ? लगायत विषयमा वन अधिकृत तथा सञ्चालक खड्काले जानकारी गराएका थिए ।


कार्यक्रममा जिल्ला वन कार्यालय प्रमुख, नेकपा एमाले बाँके अध्यक्ष निरक गुरुङ, राष्ट्रिय जनमोर्चाका कृष्णराज पाण्डे, डब्लुडब्लुएफ नेपाल शिवराज भट्ट, वन्यजन्तु संरक्षण अभियन्ता विष्णु सापकोटा, तुलसीराम थारु, बिन्ती थारु, डिभिजन वन अधिकृत राजु क्षेत्रीलगायतले वन्यजन्तु चोरी शिकारी रोक्न आ–आफ्नो धारणा राखेका थिए ।

जिल्ला वन कार्यालय प्रमुखको अन्यत्र सरुवा भएको हुँदा तराई भूपरिधीका हरि पाण्डेले कार्यक्रम बिचमा प्रमुखद्वारा बाँके जिल्लामा वन संरक्षण सम्बन्धी गरिएको कार्यको प्रशंसा गर्दै सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *