

नेपालगन्ज, १ असाेज – उत्तरी छिमेकी चीनलाई नेपालीहरुले असल छिमेकी मान्छन् । तर पछिल्लो समय चीनको रवैया नेपालविरुद्ध बढेको छ ।
हुम्ला लगायत सीमा क्षेत्रमा सीमा अतिक्रमण गरेको चीनले नेपालीहरुको रगत पसिना मिसिएको करबाट उठेको करोडौं रुपैयाँ समेत खाएको खुलेको छ । फिर्ता माग्दा कुनै जवाफ नदिएको भेटिएको छ ।
महालेखा परीक्षण प्रतिवेदनमा चीनले खाएको रकम बेरुजु देखिएपछि यो तथ्य बाहिर आएको हो । यो रकम फिर्ता गराउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालादेखि प्रचण्ड, माधव, केपी ओली हुँदै अहिले शेरबहादुर देउवासम्मको पालामा प्रयास गरिएको छ । तर चीनले टेरेको छैन ।
राजा ज्ञानेन्द्र शाहको पालामा २०६२ मंसिर २७ गते चीनबाट दुईवटा एमए-६० विमान किन्ने निर्णय भएको थियो । चीनको ‘चाइना नेसनल एरो टेक्नोलोजी इम्पोर्ट एन्ड एक्सपोर्ट’ बाट किनेर ल्याउनेगरी साढे ३९ करोड एडभान्स दिइयो । तर विमान आएन । राजाको शासन हट्यो । गिरिजा प्रधानमन्त्री बने ।
एउटा मात्रै एमए-६० विमान किन्ने र अर्कोको पैसा फिर्ता गराउने निर्णय गराए । एउटा विमान आयो । तर पैसा फिर्ता गरेन । प्रचण्डको नेतृत्वमा सरकार बन्यो । चीनले पैसा नदिएपछि त्यो पैसा बराबरको दुई वटा हेलिकोप्टर दिन प्रस्ताव पठायो । चीनले वास्तै गरेन । अनि माधव नेपाल प्रधानमन्त्री बने । उनले पैसा वा हेलिकोप्टर दिन माग गर्दा चीनले अस्विकारै गरयो ।
अन्तिममा आधा पैसा फिर्ता गर्ने र हेलिकोप्टर पनि उपलब्ध गराउने चीनले आश्वासन दियो । तर माधवपछि झलनाथ, प्रचण्ड, केपी ओली र अहिले देउवा प्रधानमन्त्री बनिसकेका छन् । तर त्यो आश्वासन अझै चीनले पूरा गरेको छैन । नेपाललाई टेरेको छैन ।
नेपालले दुई वटा हेलिकोप्टर बराबरको साढे ३२ करोड रुपैयाँ चीनसँग लिनुपर्नेछ । तर हेलिकोप्टर दिने त कहाँ हो कहाँ पैसा पनि फिर्ता गर्न मानेको छैन । बारम्बार ताकेता गर्दा पनि हेलिकोप्टर पठाउन अस्विकार गरेको छ । अहिले प्रधानमन्त्री भएका परराष्ट्रमन्त्रीसमेत रहेका देउवाले हेलिकोप्टर वा पैसा फिर्ता पठाउन बेइजिङस्थित नेपाली दूतावासमार्फत पत्र पठाएका छन् ।
तर चीनले कुनै वास्ता नगरेको परराष्ट्रका अधिकारी बताउँछन् । चीनले पटक पटक अटेरी गरेपछि परराष्ट्रका कर्मचारी पनि आजित छन् । एकातिर सीमा अतिक्रमण गरेर दादागिरी देखाइरहेको चीनले अर्कोतिर नेपालीको करबाट उठेको पैसा कब्जा गरेर आफ्नो वास्तविक व्यापारिक स्वार्थ प्रदर्शन गरेको छ । (स्राेत: नेपालपान)
