
नेपालगन्ज, २४ श्रावण– बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद इस्तियाक राईले बाँकेका सुरक्षा निकायलाई मास्क र थर्मल गन उपलब्ध गराउनु भएको छ । पूर्वमन्त्री समेत रहेका संघीय सांसद राईले महाविपत्तिमा फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी उक्त सामाग्री उपलब्ध गराउनुभएको छ ।
यसअघि पनि पुर्वमन्त्री राईले जिल्लाका सुरक्षा निकाय तथा अस्पतालहरुलाई मास्क, सेनटाइज गर्ने मेसिन र पिपिई किटय लगायत सामाग्रीहरु वितरण गरिसक्नु भएको छ ।
फ्रन्टलाइनमा खटिएर काम गर्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी कार्यालय र अनुसन्धान विभागलाई सहजताका लागि ६ सय एन ९५ मास्क र दुई दर्जन बढी थर्मल गन पुर्वमन्त्री राईले उपलब्ध गराउनु भएको छ ।
पुर्वमन्त्री राईद्वारा उपलब्ध गराईएका एन ९५ मास्क र थर्मलगनहरुलाई पुर्व समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेल, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी सुभाष खड्का, शसस्त्र प्रहरी बाँकेका प्रमुख एसपी अशोक बम र अनुसन्धान विभागका बाँके प्रमुख कमल भट्टराईलाई हस्तान्तरण गर्नु भएको छ ।
कोभिड १९ महामारी बिरुद्ध सहयोग पुग्ने उद्देश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै पुर्व समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले अहिले नेपालगन्जको अवस्था निकै जटिल बनेकोले जनताको सेवामा खटिनेहरुलाई सहज होस भने मास्क र थर्मल गन वितरण गरिएको बताउनुभयो ।
उहाँले भिडभाड हुने ठाउँमा वा सहरका विभिन्न चोक–चोकमा डियुटीमा खटिएका सुरक्षाकर्मीले हिडडुल गर्नेहरुको ज्वरो मापन गर्न सहजता होस् भनेर थर्मल गनहरु दिईएको बताउनुभयो ।
स्वास्थ्य सामाग्री बुझ्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले समुदायमा संक्रमण फैलिएकोले अहिले यस्ता सहयोगले ठुलो काम गर्ने बताउँदै सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँले यी सामाग्रीको सदुपयोगमा ख्याल गरिने बताउनुभयो ।
यसैगरि जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुभास खड्काले जटिल अवस्थामा डियुटीमा खटिने सुरक्षाकर्मीलाई मास्क र थर्मल गनले काम गर्न सहज र सुरक्षित बनाउने विश्वास गर्नुभयो । सामाग्री हस्तान्तरण कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
