
नेपालगन्ज, ४ श्रावण – आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई सहयोग प्रदान गरिएको छ । बासकी कार्यबाहक कोषाध्यक्ष दिला शाहले आफ्ना माता, पिताको सम्मानमा स्थापना गरेको मानदेवा परोपकारी अक्षय कोषबाट बाँसगढी बर्दिया घर भई हाल नेपालगन्ज वडा नं. १२ मा बस्दै आएकी लक्ष्मी बुढालाई व्यवसाय सञ्चालन सहयोगका लागि १० हजार सहयोग गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएकी बुढाका श्रीमान १ वर्षदेखि सम्पर्क बिहिन छन् । बुढाले नेपालगन्जमा ठेलामा पसल सञ्चालन गरिरहेकी छन् । शाहको जन्म दिन साउन ३ गते कोषबाट विभिन्न व्यक्तिहरुलाई सहयोग प्रदान गरिदै आएको छ । नेपालगन्जमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमका अतिथी बासका सल्लाहकार बरिष्ठ पत्रकार पूर्णलाल चुके, कानुनी सल्लाहकार अधिबक्ता लोकबहादुर शाहले बुढालाई सहयोग हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै अक्षय कोषकी संस्थापक दिला शाहले जिवित वुवा, मुवाको सम्मानमा अक्षयकोष स्थापना गरि सहयोग गर्न पाउँदा खुसी लागेको बताईन् । सानो रकमबाट शुरु गरिएको कोष अभिबृद्धि गरि बिपन्न बालबालिका, हिँसामा परेका महिला र प्राकृतिक प्रकोेपबाट पीडितहरुलाई सहयोग गर्ने उद्देश्य रहेको उनले बताईन् ।
अक्षयकोषका अर्का संस्थापक दिनेश चन्दले मानविय भावनाबाट अभिप्ररित भएर अक्षयकोष स्थापना गरेको बताए । कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार पूर्णलाल चुकेले साक्षात भगवानको रुपमा चिनिने बुवा, मुवाको सम्मानमा कोष स्थापना गरि शाहले परोपकारी कार्य गरेको बताए ।
कार्यक्रममा बासका कानुनी सल्लाहकार अधिबक्ता शाहले अक्षयकोष स्थापना गरि गरिएको मानविय कार्यको उच्च प्रशंसा गरे । बासका निबर्तमान अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा उद्देश्य माथि बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पारेका थिए । कार्यक्रमको समापन बासका अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।
नेपालगञ्ज—१८ निवासी बासकी कार्यबाहक कोषाध्यक्ष दिला शाहले आफ्ना जीवन साथी दिनेश चन्दसँगको सहकार्यमा आफ्ना बुवा मानबहादुर शाह र मुवा देवा शाहको सम्मानमा २०७४ पौष २१ गते मानदेवा परोपकारी अक्षय कोष बासको संरक्षकत्वमा स्थापना भएको थियो । २ लाख ५० हजारको अक्षय कोष बृद्धि गर्दै हाल ३ लाख ८० हजार ९ सय ९८ पुर्याईएको छ ।
उक्त कोष बृद्धिका लागि थप एक लाख रकमको चेक कोषका संस्थपाक दिला शाह र दिनेश चन्दले संयुक्त रुपमा बासका अध्यक्ष रमेश सिटौला लगायतलाई हस्तान्तरण गरेका थिए । यो संगै अव कोषको राशि ४ लाख ८० हजार ९ सय ९८ हुने भएको छ ।
उक्त कोषबाट हालसम्म विभिन्न बालबालिका, हिंसामा परेका महिला, अशक्त व्यक्ति र बालगृहलाई सहयोग गरिएको थियो ।



