नेपालगन्ज, २३ अषाढ – महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रोत्साहनका लागि नेपालगन्ज उपमहानगरपालिकाले साईकल उपलब्ध गराइएको छ । नेपालगन्जमा कार्यरत २०१ जना मध्ये १६८ जनालाई बुधबार नगर प्रमुख डा. धवलशम्शेर राणाले साईकल हस्तान्तरण गर्नुभयो ।
यसबाट महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई काम गर्न सहज हुने र समग्रमा नगर कै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षा सहित साईकल सहयोग गरिएको नगर प्रमुख राणाले बताउनुभयो ।
३३ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु ६० वर्ष उमेर पुरा भएका कारण असारपछि अवकाश पाउने उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई साईकल उपलब्ध गराइएको हो । सहभागी महिला स्वास्थ्य स्वयमसेविकाहरुले उपमहानगरले गरेको सहयोगले आफुहरुलाई जिम्मेवार बनाएको बताउनुभयो ।