
डुडुवा, १८ अषाढ – बाँके डुडुवा गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण मूल प्रवाहीकरण सम्वन्धी दुई दिने कार्यशाला शुरु भएको छ । प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बनी प्रदेशको सहयोगमा डुडुवा गाउँपालिकाले आज शुक्रबारदेखि दुई दिने कार्याशाला शुरु गरेको हो ।

गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण जेसीको अवधारणालाई कार्यन्वयन गर्न स्थानीय सरकारका जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न लागिएको हो । कार्यशालामा अधिवक्ता विश्वजित तिवारीले सहजीकरण गर्नुभएको छ ।

यो कार्यशाला पश्चात गाउँपालिकामा जेसी फोकल पर्सन चयन, जेसी निती निर्माण, समिति निर्माण गरि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना निर्माण गरिएको छ । तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले गाउँपालिकालाई जेसी नितिको आवश्यकता रहेको भन्दै यो कार्यलाई प्रभावकारी कार्यान्वयन गर्न गाउँपालिकाले बजेट विनियोजन गरि अघि बढने प्रतिबद्धता गर्नुभयो ।

स्थानीय तहको हरेक स्थानमा जेसीको अवधारणालाई लागु गरि महिला, दलित, अल्पसंख्यक, मुस्लिम तथा पछाडी परेका समुदायहरुको अर्थपूर्ण सहभागिता गराउन नितिको आवश्यकता रहेको छ । कार्यशालामा कार्यपालिका सदस्य, वडासदस्य, विभिन्न शाखा प्रमुख तथा कर्मचारी लगायतको सहभागिता रहेको छ ।
