
नेपालगन्ज, १४ अषाढ – नेपालगन्ज उपमहानगरपालिकाले लामो समयदेखि तयारी गरिरहेको गल्र्स कलेज नयाँ शैक्षिकसत्रदेखि सुरु हुने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणा नेतृत्वको टोलीले सम्बन्धन लगायतका विषयमा आईतबार मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति नन्दवहादुर सिंह लगायतका उच्च पदाधिकारीसँग छलफल गरेर फर्किएको छ ।
मध्यपश्चिम विश्व विद्यालयका उपकुलसँग छलफलपनि नेपालगन्ज फर्किएको टोली सोमबार पनि नगरप्रमुख डा. धवलशम्शेर राणा सहितको टोली छलफलमा छ । कलेज सञ्चालनका लागि अषाढ १० गते भएको ९ औं नगरसभाबाट विनियमावली पारित गरिएको शिक्षा शाखा प्रमुख गोर्खवहादुर थापाले जानकारी दिनुभयो ।
पहिलो वर्ष बिएससी सिएसआईटी र विएड कक्षा सञ्चालनका लागि अनुमतिको प्रक्रिया सुरु गर्दै प्रस्तावना तयार पारी सम्बन्धनका लागि केही दिनमै औपचारिक प्रस्ताव विश्व विद्यालयमा पेश गरिने शाखा प्रमुख राणाले बताउनुभयो ।
नेपालगन्जमा रहेका मधेसी र मुस्लिम समुदायका छात्राहरुका लागि मुख्य लक्षित गरि कलेज स्थापना गर्न लागिएको हो । कलेज सञ्चालनका लागि निर्माण भईरहेको भवनको सम्पूर्ण कार्य एक महिनाभित्रै सम्पन्न हुने उपमहानगरपालिकाले जनाएको छ । नगर प्रमुख राणाले नेपालगन्जमा कन्या क्याम्पसको आवश्यकता महसुश गरि सुरुवातदेखि नै कलेज स्थापनाको पहल गरिएको र अहिले त्यो पुरा हुने चरणमा पुगेको बताउनुभयो ।

