
नेपालगन्ज, २२ जेष्ठ – पत्रकारहरुका लागि मानवअधिकारका विषयमा एक दिने भर्चुअल तालिम नेपालगन्जमा सम्पन्न गरिएको छ । पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज शनिबार भर्चुअल अनलाईन तालिम गरेको हो ।
तालिममा मानवअधिकार, अवधारणा, सिद्धान्तका बारेमा राष्ट्रिय मानवअधिकार आयोगका पुर्ब सदस्य मोहना अन्सारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार कार्यान्वयनको फ्रेमवर्कका बारेमा कानूनविद अधिबक्ता मोहनलाल आचार्य र मानवअधिकारका सवालको पहिचान, रिर्पोटिग र पत्रकारहरुको भुमिकाका बारेमा वरिष्ठ पत्रकार धमेन्द्र झाले सहजीकरण गर्नुभएको थियो । तालिम पश्चात सहभागी पत्रकारहरुले मानवअधिकार सवालको पहिचान तथा त्यस अन्तर्गतका विषय बस्तुहरुमा रिपोर्टिग गर्ने विश्वास लिइएको छ ।
तालिममा बाँके र बर्दिया जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब दुई दर्जन सक्रिय पत्रकारहरुको सहभागिता थियो । कोभिड १९ संक्रमणको महामारीका कारण संस्थाले भौतिक रुपमा गर्न नसक्ने भएपछि अनलाईनको माध्यमले तालिम गरिएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो ।
संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले तालिमको विषयबस्तु तथा उद्देश्य बारे जानकारी गराउनु भएको थियो भने कार्यक्रम संयोजक टेकनाथ आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

