
नेपालगन्ज, ३१ बैशाख – मृत्युको शैय्यामा भएकाहरुको लागि मात्र नभएर सिंगो बाँकेबासीहरुले नै हाल दैनिक लाश गनी बसेको देखिन्छ । हाल विश्व कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट आक्रान्त भएको बेला सबले आ–आफ्नो स्तरबाट केही नकेही रोकथामका उपाय गरिएको छन् ।
तर नेपालको हकमा भने सत्ता र कुर्चीको छिनोफानो मै दिन बितिरहेको छ । के यसकै लागि दुई तिहाईको मत दिएर जनताले सत्ता हन्तान्तरण गरेका थिए ? होईन भने अब लाश गन्ती गन्न बन्द हुनुपर्छ भन्ने बुझाई आम जनमानसको रहेको पाईन्छ । नेपालगन्जबासी दैनिक लाख गन्ती गर्दैै भगवानलाई गुहारिरहेका छन् ।

मध्य तथा सुदुरपश्चिमको एक मात्र स्वास्थ्यको हबको रुपमा रहेको बाँके जिल्लाको सदरमुकाम नेपालगन्जका स्वास्थ्य संस्थाहरुको पोल अब मात्र खुलेको बुझिन्छ । नेपालगन्जमा रहेका ठूलो अस्पतालहरुमा भेरी अस्पताल, नेपालगन्ज मेडिकल कालेज, कोहलपुर मेडिकल कालेजलगायत सम्पूर्णमा हालको मृत्युदरको संख्या हेर्दा के कस्तो व्यवस्था रहेको र सम्बन्धित पक्षहरुले के गरेका छन् भन्ने बुझाई रहेको बिरामीहरुको भनाई रहेको छ ।
आज शुक्रबार बिहान १० बजे सत्यमखबरको टिम भेरी अस्पताल परिसर भित्र छिर्दा कुरुवाहरुको रोदनपूर्ण स्वर सुनेर एक छिन अलमलमा परेको थियो । तर पनि आफ्नो पेशागत मर्यादालाई कायम राख्न के भयो भनी जानकारी माग्दा भेरी अस्पतालको अस्तव्यस्त रहेको अवस्था बारे बिरामीका कुरुवाहरुले एक–एक गरी जानकारी गराए ।
मानवताप्रेमी कार्यमा अग्रणी स्थान बनाउन सफल रहेको अञ्जनी माता रसोई नभएको भए हामीलाई रोगले मात्र नभई भोकले समेत मर्ने अवस्था रहेको बताउँछन् कुरुवाहरु । अब हामी सब भगवान भरोसे बसेका छौं । कतिबेला हाम्रो आफन्त मृत्यु हुने र सम्बन्धित अस्पताल स्रोतले मृत्युको संख्यामा बृद्धि गरी माथि रिपोर्ट पठाउने त्यति मात्र हेरी बस्न बाध्य भएको बताउँछन् ।
बिहान १० बजे सत्यमखबरको टिम अस्पताल परिसरमा छिर्दा ३–४ जनाको शव एकान्त कुनामा राखिएको देखियो भने कतिपय बिरामी आफ्नो र मृत्यु बीचको दुरी मात्र नापी रहेको देखियो । यसको जिम्मेवार को ? ३ सय जना बिरामीहरुको बीचमा जम्मा ५–८ जना रहेका नर्सहरुले हम्मे–हम्मे गरी घरी यता घरी उता मात्र गरेको देखियो । सब पीडामा छन् कसलाई हेर्न कसलाई नहेर्ने समय नै नभएको पाईयो । सलाम छ त्यस्तो जिम्मेवारीमा समेत अहोरात्र खटिएर सेवा प्रदान गरिरहेका नर्सहरुलाई ।
तर कहाँ छन् सम्बन्धित जिम्मेवारी बहन गर्ने भनेर बसेका जिम्मेवार पक्षहरु ? उनले कमि भएका जनशक्तिको कोटा समेत पुरा गर्न नसक्ने रहेछन् भने किन जिम्मेवारीमा बस्नु पर्यो ? हाल बाँकेका फोकलपर्सन तेल वलीद्वारा दैनिक १४–१५ जनाको मृत्यु संख्याको तथ्यांक सार्वजनिक हुँदा समेत कसैको आँखा नखुले जस्तो देखिन्छ । थप मृत्यु दर रोक्न केही उपाय नगरिएको पाईन्छ । थप संक्रमितहरुको आउँदा उनको बेड, औषधि, अक्सिजन कसरी गर्ने सोच र ध्यान सम्म सम्बन्धित पक्षको नगएको अवस्था रहेछ ।
यसै सन्दर्भमा केन्द्रिय स्वस्थ्य मन्त्री हृदय त्रिपाठीलाई फोन गर्दा फोन त धेरै बेर पछि उठ्यो तर शब्द आयो हजुरले २ घण्टापछि फोन गर्नुस् । यस खाले जिम्मेवारी मन्त्री भएपछि स्वास्थ्य अवस्था कस्तो होला ? आम नेपाली नागरिकले आफै बिचार गर्नुस् । हामी कस्तो देशमा बसेका छौं, जसलाई कृषि सम्बन्धी ज्ञान छैन, जसलाई स्वास्थ्य सम्बन्धी जानकारी सम्म छैन उसैलाई कृषि मन्त्री र स्वास्थ्य मन्त्री बनाईन्छ । अनि कहाँ पार पाउँछ देशले ।
अब उप्रान्त लाश गर्ने प्रवृत्ति बन्द हुनुपर्छ । त्यसको रोकथाम तर्फ सम्पूर्णको ध्यान केन्द्रित हुनुपर्छ । अहिले समय छ आउने दिनमा थप जटिलता आउन बेर छैन, त्यसको तयारीमा बस्न समेत सबैको ध्यान जाओस् । नेपाली जन–जनले याद गर्ने छन् कसले विपदमा कतिको कार्य गरेको छ ? माथि उल्लेखित सबै पीडा आज भेरी अस्पताल भित्र रहेका कुरुवाहरुको रहेको छ । यस्तो पीडाको निदान कसेले दिने ? कसले सुन्ने ? जबकी सम्बन्धित जिल्ला अधिकारी स्वयं हराईरहेका छन् ? कोहीले देखेको अवस्थामा सूचना दिनु भनी कुरुवाहरुको भनाई आईरहेको छ । कहाँ छन् प्रमुख जिल्ला अधिकारी ?
