
नेपालगन्ज, ३१ बैशाख – “जहाँ ईच्छा हुन्छ, त्यहाँ शक्ति हुन्छ” मानवताप्रेमी कार्यमा कसैले केही गर्न चाहना मात्र राख्छ भने उसले जे भएपनि सो कार्यलाई पुरा गरिहाल्छ भनेको कुरा आज देखिएको छ ।
भेरी अस्पताल प्राङ्गणमा सञ्चालित रहेको अञ्जनी माता रसोई घरलाई नेपाल शिक्षक महासंघ डुडुवाका अध्यक्ष भुपेन्द्र रेग्मी (नारायण) ले खाद्यान्न सहयोग गरेका छन् ।
अध्यक्ष रेग्मीको बुवा–आमाको जन्मदिनको शुखद अवसर पारी भेरी अस्पताल प्राङ्गणमा सञ्चालित अञ्जनी माता रसोई घरमा आफै सम्पूर्ण व्यवस्था गरि रसोई सञ्चालक जितेन्द्रसिंह ठाकुरलाई खाद्यान्न हस्तान्तरण गरेका छन् ।

अध्यक्ष रेग्मीले “आफ्नो आमा–बुवाको जन्मदिनको उपलक्ष्यमा सुन्दरकाण्ड मित्र मण्डलद्वारा सञ्चालित अञ्जनी माता रसोईलाई आर्थिक सहयोग उपलब्ध गराई करिब २०० जना बिरामी कुरुवाहरुलाई निःशुल्क खाना खुवाउने ब्यवस्था गरिएको जानकारी गराउ“दै यस मावनताप्रेमी कार्यले मलाई धेरै खुशी लागेको बताउनुभयो ।”
अध्यक्ष रेग्मीका अनुसार यस विपद महामारीको बेलामा “मानवीय सेवा नै धर्म हो” भन्ने कुराको आभास भएर उक्त सहयोग गरेको तथा अन्य कोही सहयोगीहरु हुनुहुन्छ भने सहयोग गरी पुण्य कमाउन अनुरोध गरेका छन् ।
अध्यक्ष रेग्मीद्वारा अञ्जनी माता रसोईलाई सहयोग गरिएको खाद्यान्नमा चामल ५० के.जी., दाल १० केजी, आलु, फर्सी, तेललगायत ९ हजार ५ सय रुपैया बराबर खाद्यान्न रहेको जानकारी गराउनुभयो ।

रसोई सञ्चालक जितेन्द्रसिंह ठाकुरले यस मानवताप्रेमी कार्यमा अगाडी आई सहयोग गरेकोप्रति अध्यक्ष रेग्मीलाई धन्यवाद ज्ञापन गर्दै प्रहरी र प्रशासनमार्फत रसोई घरमा खाना खाने बेलामा भिडभाडको व्यवस्थापन गरिदिनु ध्यान केन्द्रित गराएका छन् ।
सञ्चालक ठाकुरका अनुसार यस रसोई घरमा रहेका स्टाफ मध्ये कोही पनि संक्रमित हुँदा रसोई घर नै बन्द गरि क्वारेन्टाईन बस्नु पर्ने अवस्था नहोस् भनी सर्तकताका लागि स्थानीय प्रहरी, प्रशासनलाई अनुरोध गरिएको बताउनुभयो ।
