नेपालगन्ज, ११ बैैैशाख – नेपाली काँग्रेसकी नेतृ, पूर्व संविधानसभा सदस्य तथा फातिमा फाउण्डेसनकी संस्थापक मोहम्मदी सिद्दिकीको आज कोरोनाले भेरी अस्पताल नेपालगन्जमा निधन भएको छ ।
नेपाली काँग्रेस नेतृ एवं पूर्व संविधानसभा सदस्य ६२ वर्षीय सिद्दिकीको आज साँझ निधन भएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी गराउनु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ निवासी पूर्व संविधानसभा सदस्य सिद्दिकी केही दिनदेखि कोरोना पोजेटिभ भई भेरी अस्पतालको आईसियुमा भेन्टिलेटरमा उपचाररत हुनुहुन्थ्यो । उहाँको निधनप्रति बाँके क्षेत्र नं. २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद ईस्तियाक राईले आफ्नो फेसबुक स्टाटसमा गहिरो सम्वेदना प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा धर्यधारणको कामना साथ जन्नतमा उच्च स्थान प्राप्त होस भनी अल्लाहसँग दुहा गरेका छन् ।