नेपालगन्ज, २९ चैत – नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रशिक्षण कार्यक्रम नेपालगन्जस्थित उपमहानगरपालिकाको तालिम केन्द्रमा आईतबार समापन भएको छ ।
प्रशिक्षण कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले निर्धारण गरेको १० वटा क्षेत्रहरु शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायीक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशिकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन तथा सहकार्य र समन्वयमा विस्तृत छलफल भएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाले गत आ.व.मा गरेका कार्यप्रगति तथा योजना कार्यान्वयनको समग्र अवस्था बारेमा छलफल गरी कार्यविधिले निर्धारण गरेको आधारमा मूल्याङ्कन गरिएको कार्यक्रम संयोजक दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
प्रशिक्षणको समापन गर्दै उपप्रमुख उमा थापा मगरले प्रशिक्षकद्वय दानबहादुर एडी र डिल्ली वि.सी.लाई सम्मान स्वरुप मायाको चिनो प्रदान गर्नुभयो । उहाँले यो स्वमूल्याङ्कनले आफुले गरेका कामको आफै मूल्याङ्कन गर्ने अवसर प्रदान गरेको, सन्तुलित विकास तथा नीति/कानुन निर्माणको लागि स्थानीय तहलाई प्रेरित गरेको र यो कार्यविधि आगामी दिनमा स्थानीय सरकारको सारथी हुने विश्वास व्यक्त गर्नुभयो ।
उप–महानगरपालिकाका प्रवक्ता एवंम वडा नं.१ का अध्यक्ष प्रमोद रिजालले कार्यक्रम अत्यन्तै फलदायी भएको र यसले आफुले गरेका कामको बारेमा समिक्षा गर्ने अवसर प्रदान गरेको बताउनु भयो । उहाँले कार्यविधिमा भएका केही बुँदाहरु भुगोल सुहाउँदो नभएकोले त्यसमा परिमार्जन गर्न सकेमा यसले आगामी दिनमा स्थानीय तहलाई दिशानिर्देश गर्न सहजीकरण गर्ने बताउनुभयो ।
चैत २६ देखि सुरु भएको तालिममा प्रशिक्षण कार्यक्रममा उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरु र विषयगत शाखाका शाखा प्रमुख एवं प्रतिनिधीको सहभागिता थियो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का र प्रदेश प्रशिक्षण प्रतिष्ठान, नेपालगन्ज बाँकेका कार्यकारी निर्देशक मोतीप्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।