काठमाण्डौ, १३ चैत – जेलमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओलीको ‘दूत’ बनेर एमाले सांसद महेश बस्नेत डिल्लीबजार कारागार पुगेका छन् ।
एसएसपी लक्ष्मण न्यौपानेसहितको टीकापुर हत्याकाण्डका मुख्य आरोपी चौधरीलाई भेट्न बस्नेत शुक्रबार बिहान कारागार पुगेका हुन् ।
समाजवादी पार्टीसँग सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीले कुराकानी अघि बढाइरहेका बेला बस्नेतले चौधरीलाई भेटेका हुन्। संविधान संशोधनसहित टीकापुर हत्याकाण्डका आरोपीलाई रिहा गर्नुपर्नेलगायत माग जसपाको छ ।
चौधरीको रिहाइ र संविधान संशोधन विषय अगाडि बढे ओलीसँग साझेदारी गर्न जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो सकारात्मक देखिएका छन् ।
सांसद बस्नेतले चौधरीको रिहाइसहितको जसपा मागमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘विशेष’ निर्णय गरिसकेकाले आफू भेट्न जेल पुगेको बताए ।
‘उहाँहरूको मागबारे मन्त्रिपरिषदले विशेष निर्णय गरेको मैले सूचना पाएको छु, त्यसैले म भेट्न गएँ,’ बस्नेतले भने, ‘विप्लव समूहका नेता कार्यकर्ता रिहा गर्न भएको सम्झौता कै स्पिरिटमा रहेर जसपाको माग सम्बोधन गर्ने विषयमा मन्त्रिपरिषदले विशेष निर्णय गरेको अवस्थामा म उहाँलाई भेट्न पुगेको हुँ ।’
चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले जन्मकैद हुने फैसला गरेको थियो ।
सो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । भेटमा सांसद चौधरीले प्रधानमन्त्री ओलीले नै पार्टीको एजेन्डालाई सम्बोधन गर्न सक्ने भएकाले आफूहरू सकारात्मक भएको प्रतिक्रिया दिएका थिए ।
‘हाम्रो एजेन्डा सम्बोधन भएमा सहकार्यका लागि तयार छौं,’ चौधरीलाई उद्धृत गर्दै बस्नेतले भने । (सेतोपाटी)