Sunday, April 26सत्यम खबर
Shadow

खजुरामा अन्तर विद्यालय रनिङ शिल्ड प्रतियोगिता शुरु

नेपालगन्ज, २८ फागुन – खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा आज शुक्रबारदेखि अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ ।
खजुरा गाउँपालिका वडा नं. ४ स्थित जनकल्याण मावि बद्रीपुरमा भइरहेको प्रतियोगिताको लुम्बिनी प्रदेश सांसद बाबुराम गौतमले एक भब्य समारोहका वीच उदघाटन गरे । सांसद गौतमले खेलले आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकास गर्ने बताए ।
उनले अन्तर्राष्टिूयस्तरमा प्रतिस्पर्धा गर्ने खेलाडी उत्पादन र त्यसको पहलिो जग रनिङ शिल्ड भएको उल्लेख गरे । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले तीन वर्षको दौरानमा रनिङ शिल्ड प्रतियोगितामा खजुरा क्षेत्रका विद्यालय र विद्यार्थीको उत्साहजनक सहभागिता रहेको बताए । उनले विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिँदै खेल र शैक्षिक महोत्सव गरिँदै आएको बताए ।


अध्यक्ष कक्षपतिले खजुरामा खेल संरचना, खेलाडी उत्पादन र खेलाडीवीचको प्रतिस्पर्धामार्फत खेल विकास गरी खजुरालाई खेलकुद हबका रुपमा समेत विकास गरिने बताए । स्वागत मन्तव्य दिँदै शिक्षा समिति सदस्य भक्तबहादुर केसीले तेस्रो वर्षसम्म आइपुग्दा प्रतियोगिता स्थापित भएको र विद्यार्थीमा खेलकुदको विकास हुँदै गएको उल्लेख गरे ।
कार्यक्रममा स्वागत गीत, झाँकी र नृत्यमार्फत अतिथिलाई स्वागत गर्नुका साथै सहभागी विद्यालयका विद्यार्थीले मार्चपास गरि सलामी अर्पण गर्दा कार्यक्रमको मूख्य आकर्षण बनेको थियो । उदघाटन समारोहमा धन्यवाद ज्ञापन गर्दै संचालन तथा व्यवस्थापन विद्यालय जनकल्याण माविका प्रधानाध्यापक भीमबहादुर थापाले कार्यक्रम सफल बनाउन आआफ्नो तप्काबाट लाग्ने सबैलाई धन्यवाद दिए ।


शुक्रबार नै एथलेटिक्स, भलिबल लगायतका विभिन्न खेल संचालन गरिएको छ । प्रतियोगितामा खजुरा क्षेत्रका संस्थागत, निजी र मदरसा गरी ६५ विद्यालयका ४७५ छात्रा र ५४१ छात्र गरी १ हजार १६ जना खेलाडी सहभागी छन् ।
यस प्रतियोगिताको प्रथम संस्करण जनसेवा मा.वि. खजुरा ६, पुरैनाको व्यवस्थापनमा मिति २०७५ फाल्गुण ३ देखि ६ गतेसम्म संचालन भएको थियो भने दोस्रो संस्करण २०७६ पौष २७ गतेदेखि माघ ३ गतेसम्म अमर मा.वि.को व्यवस्थापनमा संचालन भएको थियो ।


यो प्रतियोगितामा माध्यमिक तह (कक्षा ९–१२) र आधारभूत तह (कक्षा ६–८) गरी दुई ओटा रनिङ शिल्डका लागि प्रतिष्पर्धा हुनेछ भने आधारभूत तह (कक्षा १–५) का लागि सहायक खेलहरु खेलाइने छ । मा.वि तर्फ एथलेटिक्स, भलिवल, कपड्डी र मार्शल आर्ट (जुडो) खेलका १६ इभेन्ट्स,आधारभूत तह कक्षा ६–८ तर्फ एथलेटिक्सका १० इभेन्ट्स र आधारभूत तह कक्षा १–५ तर्फ,४–५० मि.रिले,१०० मि.दौड,चम्चा दौड ३० मि. र कुर्सी दौड खेलका ५ इभेन्ट्स गरी जम्मा ३१ ओटा खेलहरु राखिएका छन् । गत संस्करण्मा जम्मा ६४ इभेन्ट्स समेटिएका थिए तर यस वर्ष कोभिड १९ को विषम परिस्थितिका कारण ३ दिनमा जम्मा ३१ खेल मात्र खेलाइने छ । यो खेललाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूदको छनौट खेलको रुपमा लिइएको छ ।
खेलको दौरानमा खेलाडीलाई चोटपटक लाग्न सक्ने सम्भावनालाई ख्याल राख्दै ५० जना खेलाडीहरुको खेल अवधिभर रु.५ लाख सम्मको उपचार विमा गरिएको छ । प्रतियोगिताका प्रथम, द्धित्तीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरुलाई मा.वि.(कक्षा ९–१२) तर्फ क्रमशःरु.२५,०००।–,रु.१५,०००।– र १०,०००।–, आधारभूत तह (कक्षा ६–८) रु.१५,०००।–, रु.१०,०००।–, रु ७,०००।– नगद पुरस्कार प्रदान गरिने छ । यसैगरी आधारभूत (१–५) मा प्रथम,द्धित्तीय र तृतीयलाई क्रमशःरु.१०,०००।–,७०००।– र रु.५०००।– नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ ।


प्रतियोगिता सफल पार्न खजुरा गा.पा.प्रमुख तथा गाउँ शिक्षा समितिका संयोजक किस्मत कुमार कक्षपतिको) अध्यक्षतामा ३०१ सदस्यीय सम्मको मूल आयोजक समिति गठन गरिएको छ भने व्यवस्थापनलाई प्रभावकारी र सहज बनाउनका निमित्त उद्घाटन समारोह,अतिथि सत्कार, जुरी अफ अपिल, मञ्च व्यवस्थापन, उद्घोषण, पुरस्कार व्यवस्थापन, स्वयंसेवक परिचालन,प्राविधिक तथा फिल्ड निर्माण,भोजन तथा आवास, प्रचारप्रसार र प्राथमिक तथा स्वास्थ्य सेवा उपसमिति गठन गरी परिचालन गरिएको छ ।
प्रतियोगिताको प्रशासनिक एवं व्यवस्थापकीय कार्यलाई चुस्तदुरुस्त र छिटोछरितो बनाउन यमनारायण महतोको संयोजकत्वमा सचिवालय स्थापना गरिएको छ । खेल अवधिभर खेल मैदानलाई व्यवस्थित गर्न श्री योगिनी मा.वि.गौघाटको प्र.अ.श्री गगन बहादुर खड्कालाई फिल्ड मार्शल तथा अरुणोदय मा.वि.का संस्थापक प्रिन्सीपल श्री ऋषिकेश जि.सींलाई सहायक फिल्ड मार्शल तोकिएको छ ।


खजुरा गा.पा.मिश्रित जातजाति र धर्मावलम्वीहरुको बसोवास क्षेत्र रहेकोले धार्मिक सद्भावको प्रतिकको रुपमा यस मेयर रनिङ शिल्ड खेलकूदको लोगोमा विविध धर्मका धार्मिक स्थलहरु अंकित गरिएको छ । त्यसैगरी, बाँके राष्ट्रिय निकुञ्जमा मात्र पाइने विश्वकै दुर्लभ जनावर चार सिंगे हरिणलाई प्रतिक चिन्ह (मस्कट)को रुपमा राखिएको छ । यस पटकको मूल नारा “कोभिड विरुद्धको अभियानमा गुणस्तरीय शिक्षा र खेलकूद” रहेको छ ।
प्रतियोगिता प्रत्येक वर्ष आयोजना गरिने हुँदा मेयर रनिङ शिल्ड खेलकूद निर्देशिका २०७५ तयार पारी गाउँपालिका परिषदबाट पारित गराइ लागु गरिएको छ र सोही निर्देशिका वमोजिम गा.पा.प्रमुखको अध्यक्षतामा एउटा १७ सदस्यीय मेयर रनिङ शिल्ड खेलकूद संचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । यो प्रतियोगिता हरेक वर्ष राष्ट्रपति रनिङ शिल्ड खेलकूद संचालन राष्ट्रिय निर्देशिका २०७४ र मेयर रनिङ शिल्ड खेलकूद निर्देशिका २०७५,खजुरा मातहत रही संचालन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *