
नेपालगन्ज १५ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन प्रतिगमन विरुद्धको कदम भएको भन्दै बाँकेका नागरिक समाजका अगुवाहरु विरोध गरेका छन् ।
संबिधान विपरित प्रधानमन्त्रीले गरेको संसद बिघटनको घटनाले मुलुकमा कानूनलाई समेत वेवास्ता गरिएको उनीहरुको ठहर छ ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजित तिवारीको नेतृत्वमा जिल्लामा उपलब्ध नागरिक समाजका अगुवा तथा प्रतिनिधीहरुको बैठकले विरोध गर्ने निर्णय गरेको छ । बैठकले यही माघ १९ गतेका दिन नेपालगन्जमा बृहत नागरिक विरोध सभा गर्ने निर्णय गरेको छ ।
सो सभाको तयारी लगायतका बारेमा अन्य सरोकारवाला निकायसंग समेत छलफल गर्ने अध्यक्ष तिवारीले बताउनुभयो । बैठकमा सहभागिहरुले मुलुकमा उत्पन्न परिस्थितीका बारेमा आ–आफनो भनाई राखेका थिए ।
प्रधानमन्त्रीको कदमविरुद्ध अहिले देश व्यापी रुपमा राजनितिक दल, अधिकारकर्मी, नागरिक समाज लगायत सबै क्षेत्रले विरोध गरिरहेको छ ।

