
नेपालगन्ज, ११ पौष – नेपाली कांग्रेसले सोमबार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटन गरेको विरोधमा प्रदर्शन गर्ने भएको छ ।
सोही निर्णय अनुसार नेपालगन्जको त्रिभुवन चौकमा पौष १३ सोमबार केन्द्रिय सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले सम्बोधन गर्ने भएको काँग्रेस क्षेत्र नं. २ सभापति रमेश गुप्ताले जानकारी गराउनुभयो ।

गुप्ताका अनुसार संसद विघटनको असंवैधानिक कदम विरुद्ध केन्द्रिय कार्यसमितिको निर्णय अनुसार १ सय ६५ वटा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको आयोजना हुने भएको तथा सोही विरोध प्रदर्शनको लागि केन्द्रिय सदस्य एवं पूर्वमन्त्री थापा नेपालगन्ज आउने भएको बताउनुभयो ।
यस अगावै पूर्व प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गर्दै सोमबार हुने प्रदर्शनमा सहभागी हुन अपिल नेता तथा कार्यकर्ताहरुमा आव्हान गरिसकेका छन् ।
संसद विघटनको असंवैधानिक कदमविरूद्ध १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

“विघटन कै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूसँगको बसेको बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु,” विज्ञप्तिमा भनिएको छ,” संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरूद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ ।”
सभापति देउवाका अनुसार सोमबार हुने प्रदर्शन उनी आफैंले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गरेका थिए ।


