
नेपालगन्ज, ५ पौष – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिशमा आज आईतबार अपरान्ह संसद विघटन गरेको प्रति जनता समाजवादी पार्टी नेपालको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादवद्वारा जारी प्रेस विज्ञप्तीमा ‘प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटन प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यस असंवैधानिक र अलोकतान्त्रिक कदमको पार्टी जोडदार विरोध गर्दछ । प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्था माथि गरिएको गम्भिर प्रहार हो । यो अधिनायकवाद र निरंकुश्ताको पराकाष्ठा रहेको हाम्रो ठहर छ । त्यसर्थ सम्पूर्ण पार्टी पंक्ति र आम नागरिकलाई यस कदमको प्रतिवाद गर्न आग्रह र आह्वान गर्दछौं । पार्टीको बैठक यथासिघ्र बसि यस सम्बन्धमा थप निर्णय गरिनेछ ।’ भनी उल्लेख गरिएको छ ।

