Wednesday, February 4सत्यम खबर
Shadow

उनीहरू न इन्डियन थिए, न नेपाली…

आफ्नै आँगनमा नाच्न, मातृभूमिमा बाँच्न कसलाई मन नलाग्दो हो ? आफ्नै पिँढीमा थकाइ मार्न, दुःखसुखले दुई छाक टार्न कसलाई इच्छा नहुँदो हो ।
तर, गरिबी, अभाव र अज्ञानताले ती सबै इच्छा मार्दो रहेछ । आँगन, थातथलो र पिँढीबाट टाढा सार्दो रहेछ । देशका सीमा पनि तार्दो
रहेछ । भारत वा कुनै खाडी मुलुक पुग्न मजबुर पार्दो रहेछ ।
यसरी मजबुर हुने लाखौं नेपाली मजदुर छन् । अरू देश जानेको त हिसाब छ, भारत जानेको
छैन । सबभन्दा दयनीय अवस्था तिनकै छ ।

गोकर्णप्रसाद उपाध्याय


अछामबाट भारत (बम्बई) जानेको संख्या ठूलो छ तर यकिन संख्या न स्थानीय तहसँग छ, न प्रदेशसँग । संघीय सरकारसँग पनि छैन । भारत जाने अछामीको संख्यामात्र होइन, दुःख पनि ठूलै छन् । तर, लुकाउनु परेको छ गुपचुप । उता चौकिदार यता आएर ‘वाचम्यान’ बन्नु परेको छ । उता भाँडा माझे पनि यता आएर ‘घरखाता’ भन्नु परेको छ । न कमाइ आकर्षक, न इज्जत ।
तर पनि बम्बई नै सहारा छ, बेसहाराहरूको । ‘बम्बई’ ले अछामी बोलीचालीमा समग्र भारतकै प्रतिनिधित्व गर्छ । फर्किनेहरू भन्छन्, ‘बम्बईमा सब चिज यहाँसे बेहतर छ ।’
फर्किएका एक हुन् अछाम घुघुरकोटका ५१ वर्षीय कुले आउजी । १४–१५ को उमेरदेखि बम्बई आउजाउ छ । भन्छन्, ‘बाबु अल्पायुमै गुमाएँ। सौतेनी आमाले खान लाउन दिएन । पढ्ने पढाउने कुरै भएन । कमाइ खाने जमिन रहेन। भागेर बम्बई
पुगेँ ।’
बम्बई त्यस्तो नगरी हो जहाँ खान नपाएर कोही मर्दैन । उनलाई पनि मर्न दिएन एउटा चाहा
(चिया) दूकानले । रोजाना १० रूपैयाँ, मासिक तीन सय। चार वर्ष बिताए ।
तनखाह बढी खोज्दै जाँदा छ सय पाउने गरी होटलको ‘घरखाता’मा लागे । अर्थात भाँडावर्तन माझ्ने, टेबल साफ गर्ने काम । चार–पाँच वर्ष त्यहीँ बिताए । तर न घर बनाउन सके, न खातामा पैसा थुपार्न । जम्मा पारेको दस–बाह्र हजार लिएर गाउँ फर्किए । बिहे गरे । केही दिनमै नवविवाहितालाई रूवाएर एक्लै फर्किनु प¥यो ।
बम्बई वापस जाँदा साविकको नोकरी थिएन । ‘बोरिबली टेसन पास’मा आठ सय पाउने गरी ज्वेलरी दूकानमा काम पाए । जति बढी ग्राहकलाई बोलाउन र रिझाउन सक्यो, सेठ त्यति बढी खुसी हुने । वर्षौं ग्राहकलाई बोलाइरहे तर, मातृभूमिले बोलाएको पत्तै पाएनन् ।
बरू दुई दिनको जिन्दगी जेनतेन दुःखसुख सँगै साट्न घरवालीलाई उतै बोलाए । बालबच्चा
जन्मिए । परिवारमात्र होइन, दुःख र जिम्मेवारी पनि बढ्दै गयो । ज्वेलरी दूकानमा वर्षौं काटे पनि ज्वेलरीको नाममा श्रीमतीलाई एकजोर पाउजुबाहेक जोड्न नसकेपछि त्यहाँ पनि छोड्न बाध्य भए ।
कोरोना अघिसम्म ‘मलाड टेसन’ नजिक एउटा सोसाइटीका ‘वाचम्यान’ थिए । आठ हजार
तनखाह । श्रीमतीले अर्काको घरमा झाडुपोछा गरेर ६ हजार कमाउँथिन् । जेठो छोराले गाडी चलाएर कमाउने त्यस्तै ६–७ हजार । जेनतेन बुढाबुढी, तीन छोरा, एक बुहारी, दुई नातिहरूको गुजारा चल्दै थियो । कोरोना भाइरसले भताभुंग बनायो ।
कोरोनाकै जोखिमका कारण सेठले नोकरीबाट निकाल्यो । ‘कोरोना इतना फैलरहा है, तुमलोग इतने आदमी अब खोलीमे नहीं रह सकते । खोली खाली कर दो’ भन्दै सोसाइटीले खोलीबाट
निकाल्यो । अभाव र समस्याले बम्बईबाट
निकाल्यो ।
पूरै परिवार नेपाल आउन बोर्डरमा पुगे । तीसौं वर्षदेखि भारतमा बस्दा हिन्दीमा ढलिसकेको
लवज । उतै जन्मे हुर्किएका छोराछोरीको वर्ण र हाउभाउ समेत भारतीयझैं देखेर भारतीय सीमा प्रहरी बलले भन्यो ‘इन्डियनको जाने थोडी न
मिलेगा ? चलो वापस जाओ ।’
पाँच घण्टा हारगुहारपछि भारतीय एसएसबीले त छोडे तर नेपाली सुरक्षाकर्मीले जे थिएन त्यही माग्दै भने ‘नेपाली हो तो दिखाओ नागरिकता ।’
अहिलेसम्म नागरिकता बनाउनुपर्छ भन्ने ज्ञानै नभएका उनीहरूले कहाँबाट ल्याउनु नागरिकता ?
आफन्त गुहारे । बुझेर जिम्मा लिन अरू तीन घण्टा लाग्यो । आठ घण्टा सीमामै राष्ट्रविहीन, देशविहीन र पहिचान विहीन भएर बस्नु प¥यो । वर्ण, लवज र हाउभाउले भारतबाट निस्किन दिएन, नागरिकताले नेपाल छिर्न दिएन ।
सीमामा उनीहरू न इन्डिएन भए, न नेपाली रहे ।
बल्ल उनीहरूलाई लाग्यो ‘नागरिकता चाहिने रहेछ ।’
नेपाल आउने बित्तिकै नागरिकता बनाउने सोच बोर्डरमै पलाएछ । तर सोचेझैं जिन्दगी रइन’छ ।
भन्छन्, ‘अछाममा बस्न आफ्नो घर छैन । आठ जनाको परिवार आठ महिनादेखि आफन्तको घरगोठमा छौं । आम्दानी छैन । तीन कट्टा चामल राहत पाएका हौ । कसैले तेल ल्याइदिए, कसैले साबुन । कोइ धान दिँदाछन्, कोही धूलो । नातिहरू हिन्दी बोल्दा छन्, यहाँको भाषा बुझ्दैनन् ।’
बम्बईको ‘सोसाइटी’बाट निकालिएका उनीहरूलाई अछामी ‘सोसाइटी’ले पनि अपनाइसकेको छैन ।
वर्षौंदेखि बम्बईमा । न बाबुको ठेगान, न जन्म मृत्यु केही दर्ता । वंश खुल्ने प्रमाण छैन । नागरिकता सजिलै बनेन । नागरिकताका लागि प्रमाण
जुटाउन कहिले वडा धाउँछन्, कहिले प्रहरी, कहिले प्रशासन ।
दौडधुपमा निकै दुःख भएपछि छैटौं पटकमा सिडिओको कोठामा गुनासो गर्न छिर्छन् आउजी दम्पत्ति । छनछन् पाउजु बजाउँदै श्रीमती अगाडि अगाडि । ढोका छेवैमा चप्पल खोल्न खोज्छन् । यत्तिकै प्रवेश गर्न भन्छु । सोफामा बस्न आग्रह गर्छु । अप्ठ्यारो मानी मानी बस्छन् ।
श्रीमती भन्छिन्, ‘निकै दुःख पायौं हजुर । नागरिकता जसरी पनि बनाइ देऊ ।’
म सोध्छु, ‘यत्रो समय बस्दा भारतको आधार कार्ड, रासन कार्ड लिएको होला नि ? खै देखाउनुस् त ।’
‘हामी चौकिदारी गर्ने, भाँडा माझ्ने गरिबलाई कल्ले दिन्या हजुर आधार कार्ड, रासन कार्ड !’
‘नागरिकता बेलैमा नबनाउँदा पछि गाह्रो हुन्छ भन्ने लागेन ?’
‘थाहा भएन हजुर । टुहुरा थियौं । सौतेनी सासू । यिनले छोडेर गइहाले (श्रीमानलाई देखाउँदै) । म ठकुरीका गोरू हेरेर आफ्नो पेट पाल्थेँ । उतिबेला नागरिकता टोली गाउँमै आउँदा नागरिकता बनाउन एक सय रूपैयाँ लाग्थ्यो । सासूलाई पैसा माग्दा’ ‘छैन मसँग, तेरै माइतीबाट ल्या’ भनिन् । पैसा दिनु त टाढाको कुरा, किन चाहियो नागरिकता भनेर उल्टै हकारिन् । त्यतिबेला पैसा भएन, नागरिकता भएन हजुर ।’
‘सित्तैमा बन्ने नागरिकताका लागि कसले माग्यो पैसा ?’
‘गाउँकै एक जना थिए, फुटा खिच्न, अरू कागत बनाउन, क्या–क्या गर्न चाहिन्या रै’छ । दिन
सक्यानौं । पछि नागरिकता नबनाई म पनि भारत गइहाल्या । अहिले पैसा थिया, नागरिकता सजिलै भएन ।’
दस दिनअघि बडो मुश्किलले श्रीमानको नागरिकता बन्यो । दुखेसो, गुनासो सुन्दै सम्पूर्ण कागजात हेरेपछि वडासँग समेत समन्वय गरेर श्रीमती, दुइटा छोरा र एउटी बुहारीको समेत नागरिकता एकै दिन
बनाउने व्यवस्था मिल्यो । केही घण्टामा उनीहरूको काम भयो ।
नसोचेको कुरा भएपछि फर्किने बेला भन्दै थिइन्, ‘बिहान त एकछिन रोईगयाउ, नागरिकता बन्दैन
भन्यो । कसैले केइ भन्यो, कसैले केइ । पैसा पनि सक्किग्या, आउन जान गाडी भाडा नाइँ । हजुरसँग भेट भयो, नागरिकता बनी गयो । अस्ति भेट्नुपर्ने, जान्यौन ।’
सिडिओलाई भेटेकै दिन सबै काम भयो भन्ने लागेको थियो सायद ।
मैले भनेँ, ‘आज बन्नु संयोग मात्र हो । धेरै कागजात मिलाएर ल्याउनुभएकै थियो । मैले सहजीकरण मात्र गरेको हुँ ।’
बिहानदेखि भोकै हुन् कि भन्ने लागेर खाजा खान प्रस्ताव गरेँ ।
भनिन्, ‘हजुरले यति ठूलो काम त गरिदिनुभयो, उल्टै हजुरकै पैसाले खाजा खाया त पाप लागिजान्या हो ।’
चार बजे बिदा हुने अफिस सवा पाँच बजिसकेको थियो । बोलेरो गाडीले परबाट एकोहोरो हर्न बजाएर बोलाउँदै थियो । बुहारीको नागरिकतासँगै परिवारका चार जनाको नागरिकता एकै दिन बन्दा तिनको खुसीको सीमै थिएन ।
जानेबेला सोध्न मन लाग्यो, ‘अब बम्बई जानुहुन्छ कि नाइँ ?’
श्रीमान भन्छन्, ‘कोरोनाले नोकरी छुट्यो, भाग्यले यसरी चुट्यो । समझमै छैन, यत्रो परिवार केले
पाल्नु ? अरू यही बस्न्या हुन् । म र जेठो छोरो गईजान्या हौं ।’
जीवनका ऊर्जाशील पैंतीस वर्ष बम्बईमा कटाउँदा पनि कुले आउजीको परिवारका दिन फिरेका छैनन् । एक आना जमिन जोड्न सकेका छैनन् कतै । घर बनाउनु त टाढाको कुरा, जिन्दगी खोलीमै बित्छ जस्तो लाग्छ उनीहरूलाई ।
आउजी परिवार इन्डियन कि नेपाली भन्ने दुविधा चाहिँ अब रहेन । नागरिकता बनाइसके । नेपालीको पहिचान पाइसके । त्यही पहिचान गोजीमा ‘कोचेर’ आउजाउ गर्दा बोर्डरमा समस्या हुने छैन । त्यसैले चाँडै ऋण काढ्ने छन् । एक दिन रातो टिकाले निधार रंगाउने छन् । अनि परदेशिनेको भीडमा उनीहरू पनि थपिने छन् ।
आखिर बेसहाराको सहारा ‘बम्बई’ न हो ।
(लेखक उपाध्याय जिल्ला प्रशासन कार्यालय, अछामका प्रमुख जिल्ला अधिकारी हुन्।)
स्रो.ः (सेतोपाटी अनलाईनबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *