Friday, November 22सत्यम खबर
Shadow

आज नौ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

काठमाण्डौ, १ पौष – भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर आज बुधबारदेखि खुलेको छ । प्राचीनकालदेखि नियमित रूपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि मन्दिर गत चैतदेखि बन्द थियो ।

तस्बिरः नारायण महर्जन


संक्रमणसँग बढ्दो दूरीसहित दर्शनार्थीलाई मन्दिर दर्शनको व्यवस्था मिलाइएको जनाइएको छ । मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरूपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ । मन्दिर बुधबारदेखि खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरू हुनेछैन ।

तस्बिरः नारायण महर्जन


पहिलो चरणमा परीक्षणका रूपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मन्दिर खुला गरिने छ । नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको जनाउँदै विश्व हिन्दू महासंघको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिक रूपमा विरोध प्रदर्शन गर्दै आएका थिए ।
चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटकसमेत आएका छैनन् । नौ महिना यता पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन रहदै आएको थियो । (सेतापाटी)

तस्बिरः नारायण महर्जन
तस्बिरः नारायण महर्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *