
बुटवल, २८ मंसिर – लैंगिक समानता तथा हिंसा विरूद्धका विभिन्न अभियान सञ्चालन भइरहे पनि लुम्बिनी प्रदेशमा जबरजस्ती करणी तथा महिला हिंसाका घटनामा भने वृद्धि भएको छ ।
प्रदेश प्रहरी कार्यालय दाङका अनुसार लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म ४ महिनाको अवधिमा ८ सय २३ वटा हिंसासम्बन्धी मुद्दा दर्ता भएका छन् ।
तीमध्ये जबर्जस्ती करणीका मात्रै १ सय ५५ वटा मुद्दा दर्ता भएका छन् ।
त्यस्तै, जबर्जस्ती करणी उद्योग अन्तर्गत पनि ५१ वटा मुद्दा दर्ता भएको प्रहरी तथ्यांकले देखाएको छ ।

तराईका ६ र पहाडका ६ गरी १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा पहाडी जिल्लाभन्दा तराईका जिल्लामा जबर्जस्ती करणीका घटना धेरै घटेका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राज कुमार बैदवारका अनुसार सबभन्दा बढी रुपन्देहीमा ३१ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् भने दाङमा २९ वटा मुद्दा दर्ता भएका छन् ।
त्यस्तै, बाँकेमा २१, कपिलवस्तुमा १८, पाल्पा र नवलपरासीमा ११र११, बर्दियामा १० र गुल्मीमा ९ वटा मुद्दा दर्ता भएका छन् ।
प्युठानमा ७, रोल्पामा ५, रुकुममा २ र अर्घाखाँचीमा १ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् ।
प्रहरी तथ्यांकका अनुसार यसअघि आर्थिक वर्ष ०७६र७७ मा ३ सय ५५ र आर्थिक वर्ष २०७५र७६ मा ३ सय ७४ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका थिए ।
त्यस्तै, ४ महिनाको अवधिमा बहुविवाहका ४४ र बालविवाहका ४ वटा मुद्दा दर्ता भएका छन् ।
बोक्सीको आरोप, जातीय छुवाछूत, बालयौन दुराचार र मानव बेचविखनका घटना पनि वृद्धि भएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५र७६ मा हिंसासम्बन्धी २ हजार १ सय ९९ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७६र७७ मा १ हजार ८ सय ४४ मुद्दा दर्ता भए पनि चालू आर्थिक वर्षमा भने बढेको देखिएको छ ।
प्रहरीले सार्वजानिक गरेको तथ्यांक अनुसार सबभन्दा बढी बाँकेमा २७२ वटा हिंसासम्बन्धी घटना दर्ता भएका छन् ।
त्यस्तै, रुपन्देहीमा १६१, कपिलवस्तुमा ९१, नवलपरासीमा ८२, दाङमा ५६, बर्दियामा ३८, रोल्पामा ३४, अर्घाखाँचीमा ३२, गुल्मीमा २६, पाल्पामा १४, प्युठानमा १३ र रुकुममा ४ वटा हिंसाका घटना प्रहरीमा दर्ता भएका छन् ।
चार महिनाको अवधिमा ८७ जना पुरूषले आफू हिंसा पीडित भएको भन्दै प्रहरीमा मुद्दा दर्ता गरेका छन् ।
७ सय ३६ जना महिलाले विभिन्न हिंसाबाट पीडित भएको भन्दै मुद्दा दर्ता गर्दा ८७ जना पुरूषले पनि मुद्दा दर्ता गरेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।
सबै घटनामा ६ सय ९६ पुरूष र २ सय ४९ जना महिलालाई पीडक बनाइएको प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले जानकारी दिए ।
