
काठमाडौं, २५ मंसिर – सरकारले एआइजीमा डिआइजी विश्वराज पोखरेललाई बढुवा गरेको छ ।
आज विहिबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई एआइजीमा बढुवा गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए । उनलाई प्रहरी मुख्यालयमा पदस्थापन गरिएको छ । संसदको राज्य व्यवस्था समितिले हिजो मात्रै व्यक्ति विशेषका लागि दरबन्दी थप्न नहुने भन्दै बढुवा नगर्न सरकारलाई निर्देशन दिएको थियो ।

यसैगरी, बैठकले सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाललाई सचिवमा बढुवा गरेको छ ।
यसअघि सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप्ने निर्णय गरेको थियो । बढुवा समितिमा गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था छ ।
पोखरेल कनिष्ठ ब्याचबाट यसअघि पनि डिआइजी बढुवा भएका थिए । बढुवा निर्णयसँगै पोखरेल हालका प्रहरी महानिरीक्षक क्षत्रीपछि स्वतः प्रहरी नेतृत्वमा पुग्छन् । नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि कायमै रहे पोखरेलले क्षत्रीको कार्यकालपछि ११ महिना प्रहरी नेतृत्व सम्हाल्छन् ।
यही सेवाअवधि कायम रहेकै अवस्थामा हालका महानिरीक्षक क्षत्रीसँगै बाँकी तीन एआइजी अवकाशमा जाने हुनाले भावी प्रहरी नेतृत्वका लागि पोखरेल एकल दाबेदार हुनेछन् । प्रहरी महानिरीक्षक क्षत्रीकै ब्याचबाट एआइजीका आकांक्षी पनि थिए । तर, ती सबैलाई किनारा लगाउँदै पोखरेल एआइजी सिफारिस भएका थिए ।
पोखरेलका ब्याची सबै अहिले डिआइजी छन्। गृहको ओएन्डएम स्वीकृतिमा पोखरेलका ब्याची डिआइजी र हालका प्रहरी महानिरीक्षक क्षत्रीका ब्याचीले असन्तुष्टि जनाउँदै आएका थिए । (सेतोपाटी)