Monday, April 27सत्यम खबर
Shadow

सगरमाथाको उचाइ बढ्यो, अब ८८४८.८६ मिटर

काठमाडौं, २३ मंसिर – विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई सार्वजनिक भएको छ । मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन् ।
यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो । अहिले ८ हजार ८ सय ४८.८६ पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो ।
दुबै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो ।

तस्बिर: सगरमाथा सौजन्यः गगनराज न्यौपाने


सगरमाथाको उचाई मापनमा संलग्न नेपाली अधिकारीहरू ।
सगरमाथा मापन टोलीले ग्लोवल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो । यो प्रविधि सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ । सगरमाथाको मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३ २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए । उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए ।
सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो । सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिधिको सहभागिता थियो ।
सगरमाथाको उचाइ मापनपछि करिब ६ महिनासम्म विभागका कर्मचारीहरुले डाटा प्रोसेसिङ गरेका थिए । नेपालले पहिलो पटक आफ्नै स्रोत, साधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको नापी विभागले जनाएको छ । उचाइ मापन गर्दा अत्याधुनिक प्रविधि मात्र नभइ परम्परागत प्रविधि पनि प्रयोग गरिएको थियो ।
नेपालले सगरमाथाको मापनको काम अन्तिम चरणमा पु¥याएको बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापन सुरु गरेको थियो । सगरमाथाको उचाई नाप्दा तिब्बती मोहडाबाट मे महिनामा आरोहण गरेका चिनियाँ सर्वेक्षकहरूले झण्डै अढाइ घण्टा चुचुरोमा बिताएका थिए ।
उनीहरूले पनि भू–उपग्रहण प्रणाली र राडार जस्ता उपकरण जडान गरी तथ्यांक संकलन गरेका थिए ।
यसअघि चीनले आफ्नो नापी निकाय न्याश्नल एडमिनिस्ट्रेशन अफ सर्भेइङ्, म्यापिङ एण्ड जीयो इन्फरमेशन (एनएएसजी) ले सन् २००५ मा गरेको उचाइलाई आधार मानेर सगरमाथाको उचाइ समुद्र सतहबाट ८ हजार ८ सय ४४ दशमलब ४४ मिटर रहेको बताउँदै आएको छ । उनीहरुले सगरमाथाको चट्टानसहित उक्त उचाइ रहेको र माथि चुचुरोमा तीन दशमलब ५ मिटर हिउँ रहेको बताउने गरेको थियो ।
गत मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो । विश्वका कतिपय भूगर्भविद्हरूले सन् २०१५ नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथको उचाइमा फेरबदल भएको हुनसक्ने आशंका गरेका थिए ।
सन् १८४७ मा तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अंग्रेजीमा माउन्ट एभरेष्ट नामाकरण गरिएको हो ।
विगतमा कैयौँ पटक सगरमाथाको उचाइ मापन गरिए पनि हालसम्म नेपाल र अन्तराष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन अनुसार ८ हजार ८ सय ४८ मिटर उचाईलाई नै आधिकारीक मान्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *