
काठमाण्डौ, १२ मंसिर – सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गरेकोमा नेपाल निजामती कर्मचारी युनियन (संघ) ले विरोध गरेको छ।
ट्रेड युनियनहरूसँग परामर्श र सहमतिविना नै सरकारले एकलौटी ढंगबाट आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरिएकोप्रति संघको केन्द्रीय कार्यसमितिले भर्त्सना गरेको हो।
आफ्नो प्रतिकूलताका कारण सरकारले निर्वाचन रोक्न खोजेको संघको भनाइ छ।
अध्यक्ष गोपालप्रसाद पोखरेलले विज्ञप्ति निकालेर तुरून्त निर्वाचन प्रक्रिया सुरू गर्न माग गरेका छन्। कुनै पनि बाहनामा निर्वाचन रोक्न नहुने उनले बताए।

‘तुरून्त निर्वाचन प्रक्रिया सुचारू गरी निर्वाचनमार्फत् नै आधिकारिक ट्रेड युनियनको गठन गर्न युनियन (संघ) माग गर्दछ,’ उनले भनेका छन्।
निर्वाचन नगरिए देशव्यापी रूपमा विरोध गर्ने उनले बताए।
‘निर्वाचनविरूद्ध भए गरेका सरकारी निर्णयविरूद्ध संघका कार्यक्रमले पर्ने असरको जिम्मेवारी सरकार स्वयमले नै व्यहोर्नुपर्ने कुरामा ध्यानाकर्षण गराउँदछौं,’ उनले भनेका छन्।
निर्वाचन रोकिनु विधिको शासन विपरीत भएको अध्यक्ष पोखरेल बताउँछन्। प्रमुख निर्वाचन अधिकृतको कार्यालय र अधिकृतसँग राय सुझावसमेत नलिई गरिएको निर्णय लज्जास्पद र अस्वभाविक छ,’ उनले निकालेको विज्ञप्तिमा उल्लेख छ।
सरकारले कोरोना महामारीका कारण कर्मचारीको चुनाव स्थगित गरेको बताएको छ।
उक्त भनाइमा संघले यही समयमा उद्योग वाणिज्य महासंघको चुनाव गर्न सरकारले दिए पनि कर्मचारी चुनाव रोकेको भन्दै आपत्ति जनाएको हो।
मंसिर २७ गते हुने तय भएको कर्मचारी चुनाव सरकारले स्थगित गरेको छ।
नेकपाभित्र देखिएको विवादको असर कर्मचारी निर्वाचनमा पर्न सक्ने भन्दै स्थगित गरिएको चर्चा छ।
