
काठमाडौं, १० मंसिर – नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई प्रहरीले पक्राउ परेका छन् ।
तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको हो ।
न्यौपाने रामेछाप मन्थली नगरपालिका–८ का हुन् । उनी काठमाडौं–४ चण्डोल बसोबास गर्दै आएका थिए ।

उनलाई बुधबार चण्डोलस्थित निवासबाटै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
न्यौपाने विरूद्ध कात्तिक २४ गते ब्युरोले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको छ । यसमा उनीसहित पाँच जनालाई प्रतिवादी बनाइएको छ ।
उनीसहित पाँच जनाले इन्जिनियरिङ कलेजमा दुई कार्यकालसम्म काम गर्दा ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ ठगी गरेको मुद्दामा ब्युरोले अनुसन्धान गरिरहेको छ ।
यस्तै, न्यौपानेविरूद्ध बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ माग गरिएको छ । भट्टराईको नाममा मात्र रहेको बिगो भने ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ मागिएको ब्युरोले जनाएको छ ।
उक्त मुद्दामा ललितपुर महानगरपालिका–९ का सूर्यबहादुर केसी, वडा नम्बर ४ जावलाखेलका रामरत्न उपाध्याय, काठमाडौं–४ विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लवराज भट्टराई प्रतिवादी छन् ।
भट्टराई पाठकलाई ७० लाख घुस दिएको बिगोमा पक्राउ परेका थिए । अख्तियारले ७८ लाख रुपैयाँ धरौटी लिएर छोडेको थियो ।
यो घुस प्रकरणपछि आयुक्त पाठकले राजीनामा दिएका थिए । (सेतोपाटी)
