
नेपालगन्ज, २५ असार – बाँकेको जानकी गाउँपालिकामा पोषण सुधार तथा कुपोषण न्यूनीकरणका उपायबारे सरोकारवालाबीच बिहीबार व्यापक छलफल गरिएको छ । सामाजिक विकास मञ्च -एसडिएफ) बाँकेको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा पौवा होटलमा आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, पत्रकार तथा अन्य सरोकारवालाले पोषणसम्बन्धी चुनौती र समाधानका उपायबारे धारणा राखेका थिए ।

कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपालका बाँके जिल्ला संयोजक तिलक केसीले कुपोषण अझै पनि बालबालिका तथा समुदायको स्वास्थ्यका लागि प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै दिगो पोषण सुधारका लागि स्थानीय सरकार, समुदाय र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले पोषणसम्बन्धी नियमित संवाद र सचेतनामूलक कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी सामाजिक विकास मञ्च बाँकेका एनसिजी अफिसर विवेक मलासीले नेपालमा पोषणको वर्तमान अवस्था, कुपोषणका जोखिम, सुधारिएको पोषणका सकारात्मक परिणाम तथा कुपोषण न्यूनीकरणका व्यावहारिक उपायबारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा सहभागीहरूलाई समूहगत छलफलमार्फत जानकी गाउँपालिकाको समुदायस्तरमा देखिएका पोषणसम्बन्धी चुनौतीहरूको पहिचान गराइएको थियो । साथै तत्काल कार्यान्वयन गर्नुपर्ने प्राथमिकता, स्थानीय स्रोत–साधनको उपयोग र दीर्घकालीन रूपमा पोषण सुधारका लागि अपनाउनुपर्ने रणनीतिबारे समेत सुझाव संकलन गरिएको थियो ।
जानकी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष टिकानाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, बालक्लबका पदाधिकारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले पोषणलाई पालिका विकासको प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, सामाजिक एकता र जनचेतनासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले कुपोषण न्यूनीकरणका लागि सबै पक्षको समन्वय र सक्रिय सहभागिता अपरिहार्य रहेको निष्कर्षसमेत निकालेका थिए ।
