
नेपालगन्ज, १७ असार – नेपालगन्ज उपमहानगरपालिका–४ स्थित मिलाप संस्थाका कर्मचारीहरूका लागि एकदिने मोबाइल फोटोग्राफी तालिम सम्पन्न भएको छ । संस्थाले कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खजुरा मिनीपार्कमा तालिम आयोजना गरेको हो ।
तालिममा पत्रकार तथा फोटोग्राफी प्रशिक्षक भगतराम थारुले मोबाइल फोनबाट गुणस्तरीय फोटो तथा भिडियो खिच्ने प्रभावकारी विधिबारे प्रशिक्षण दिनु भएको थियो । उहाँले मोबाइल क्यामेरामा रहेका विभिन्न टुलहरूको प्रयोग, उचित एङ्गल छनोट, प्रकाश -लाइट) व्यवस्थापन, कम्पोजिसन तथा फोटो र भिडियो खिच्ने व्यावहारिक सीपबारे जानकारी गराउनु भएको थियो ।

तालिममा सहभागी ९ जना कर्मचारीलाई सैद्धान्तिक ज्ञानसँगै फिल्डमा प्रत्यक्ष अभ्यास गराएर फोटो तथा भिडियो खिच्ने तरिका सिकाइएको थियो । मोबाइल क्यामेराको सही प्रयोगमार्फत व्यावसायिक स्तरका तस्बिर खिच्न सकिने विषयमा समेत प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा मिलाप संस्थाका कार्यकारी निर्देशक राजेन्द्रबहादुर थापाले संस्थाले कर्मचारीहरूको कार्यदक्षता अभिवृद्धि गर्ने कार्यक्रमअन्तर्गत उक्त तालिम आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार कर्मचारीहरूले संस्थागत गतिविधि, फिल्ड भ्रमण, स्टोरी पिच तथा समूहगत कार्यक्रमका फोटो र भिडियो गुणस्तरीय रूपमा अभिलेखीकरण गर्न सकून भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

उहाँले संस्थाले सञ्चालन गर्ने कार्यक्रमहरूको प्रभावकारी दस्तावेजीकरणका लागि गुणस्तरीय फोटो र भिडियो आवश्यक हुने भएकाले कर्मचारीलाई व्यावहारिक फोटोग्राफी सीप प्रदान गर्न तालिम उपयोगी भएको विश्वास व्यक्त गर्नुभयो ।
तालिमबाट सहभागी कर्मचारीहरूले मोबाइलमार्फत प्रभावकारी र गुणस्तरीय फोटो तथा भिडियो खिच्ने सीप हासिल गरेको संस्थाले जनाएको छ ।
