Monday, May 25सत्यम खबर
Shadow

शिक्षक शिक्षिकाका लागि क्षयरोग सम्बन्धी अन्तरक्रिया

नेपालगन्ज, ११ जेठ – नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनामा १ दिने शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अन्तरक्रिया आईतवार नेपालगन्जमा सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका अन्तर्गतका विद्यालयका शिक्षक शिक्षिका मार्फत क्षयरोगको जनचेतना अभिबृद्धि गर्ने अभिप्रायले आयोजित अन्तरक्रियात्मक कार्यक्रममा नगर क्षेत्रका १६ वटा विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका टि.बी. फोकल पर्सन स्वास्थ्य अधिकृत विनोदकुमार वि.क.ले क्षयरोगको लक्षण, क्षयरोगीको उपचार पद्दती, क्षयरोगको प्रकार र वर्तमान अवस्थाको तथ्याङ्क सहितको प्रस्तुतीकरणमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा १२४ जना क्षयरोगीहरुले नियमित औषधी सेवन गरिरहेको बताउनु भयो ।

उक्त प्रस्तुतीकरण माथि टिप्पणी गर्दै नेपाल क्षयरोग निवारण संस्था बाँकेका सल्लाहकार र स्वास्थ्य विज्ञ सेमराज शाक्यले टि.वी.का किटाणु सबै मानिसमा हुन्छ, तर जसको प्रतिरोध गर्ने क्षमता कम हुन्छ त्यस्तो व्यक्तिलाई रोग संक्रमण बढी हुने गरेको बताउनु भयो ।

यसैगरि सो अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन स्वास्थ्य अधिकृत रवीन्द्र क्मार शाह, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख जागेश्वर बस्नेतले सन् २०३५ सम्म क्षयरोग मुक्त मुलुक बनाउन नेपाल सरकारको रणनैतिक योजनाको बारेमा चर्चा गर्दै सोही अनुसार विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको जानकारी दिनु भएको थियो । उहाँहरुले क्षयरोग निवारणका विभिन्न उपायहरुका बारेमा पनि महत्वपूर्ण धारणा राख्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरुबाट राखिएका जिज्ञासाहरुको उत्तर कार्यक्रमका स्रोत व्यक्ति नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका टि.बी. फोकल पर्सन स्वास्थ्य अधिकृत विनोदकुमार वि.क.ले दिनु भएको थियो ।

नेपाल क्षयरोग निवारण संस्था केन्द्रीय समितिकी सदस्य एवं प्रमुख अतिथि रचना श्रेष्ठले क्षयरोग निवारणका लागि यस्तो प्रकारको कार्यक्रमहरु विभिन्न जिल्ला शाखा मार्फत संचालन भैरहेको बताउनु भयो ।

नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाका सभापति जनकराम भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षकहरुको तर्फबाट नारायाण उच्च माध्यमिक विद्यालयका शिक्षक कमलराज खनालले आफ्नो विचार व्यक्त गर्नु भएको थियो । बाँके शाखाका प्रवक्ता प्रहलाद विश्वकर्माले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रम सञ्चालन शाखाका सचिव बसन्त लामिछानेले गर्नु भएको थियो । कार्यक्रममा करीब तीन दर्जनको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *