Wednesday, April 22सत्यम खबर
Shadow

फोनिज बाँकेले लगायो महासङ्घमा कालो ब्यानर

नेपालगन्ज, ९ बैशाख – नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बाँकेले नेपाल पत्रकार महासङ्घ बाँके शाखाको प्रवेशद्वारमा कालो ब्यानर टाँगेको छ ।

फोनिज बाँकेले स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक घोषणा गर्नका लागि दबाबस्वरुप केन्द्रीय कार्यक्रमअनुसार बाँके शाखामा कालो ब्यानर टाँगेको हो ।

स्व. सत्यनारायणबहादुर श्रेष्ठले तत्कालीन नेपाल पत्रकार संघ विसं २००८ साल वैशाख ९ गते स्थापना गरी नेपाली पत्रकारलाई एकताबद्ध गर्ने अतुलनीय योगदान गर्नुभएको थियो ।

कार्यक्रममा फोनिज संघीय सदस्य प्रज्वल श्रेष्ठले विभिन्न कालखण्डमा आदिवासी जनजाति समुदाय विविध कारणले दबाबमा परिरहेको उल्लेख गर्दै आदिवासी जनजाति भएकै कारण कोही पनि पाखा लगाइन नहुने भन्दै सत्यनारायण बहादुर श्रेष्ठलाई महासङ्घले संस्थापकका रुपमा लिनुपर्ने बताउनुभयो ।

 

फोनिजका सङ्घीय सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज गजेन्द्र गुरुङले स्व. सत्यनारायणबहादुर श्रेष्ठप्रति श्रद्धासुमन व्यक्त गर्दै महासङ्घले यथाशीघ्र उहाँलाई संस्थापक मान्नका लागि पहल लिन आग्रह गर्नुभयो । उहाँले श्रेष्ठलाई महासङ्घको संस्थापक मान्ने विभिन्न आधारहरु रहेका र ति आधारमा टेकेर उहाँलाई संस्थापक मान्नुपर्नेमा जोड दिनुभयो

श्रेष्ठले तत्कालीन नेपाल पत्रकार सङ्घ विसं २००८ साल वैशाख ९ गते स्थापना गरी नेपाली पत्रकारलाई एकताबद्ध गर्ने अतुलनीय योगदान गर्नुभएको भन्दै तत्कालीन सङ्घ नै आजको नेपाल पत्रकार महासङ्घ भएको उल्लेख गर्नुभयो ।

फोनिज विगत लामो समयदेखि यस अभियानमा निरन्तर लागेको उल्लेख गर्दै उहाँले पत्रकारहरुले आफ्नो छाता सङ्गठनको इतिहास कायम गर्न सबैजना जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघको संस्थापकको विषय टुंगो लगाउन महासङ्घको २७औँ महाधिवेशनले गरेको निर्णयअनुसार तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न र आफ्नो छाता सङ्गठनको इतिहास कायम गर्न सबैजना जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो ।

फोनिज लुम्बिनी प्रदेश कोषाध्यक्ष भगतराम थारु, बाँके अध्यक्ष अशोक थापा मगर, उपाध्यक्ष सोम गुरुङ लगायतले वैशाख ९ गतेलाई पत्रकार महासङ्घको स्थापना दिवस मान्न र स्व. सत्यनारायणबहादुर श्रेष्ठलाई संस्थापक मान्नुपर्नेमा जोड दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *