
खजुरा, २४ माघ – बाँके क्षेत्र नम्बर ३ का दलित अगुवाहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार सुमन मल्ललाई विजयी गराउन अपिल गरेका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको आयोजनामा शनिबार खजुरामा आयोजित दलित अगुवाहरूको भेलाले दलित समुदायको हक, अधिकार र एजेण्डा नेकपा एमालेको नेतृत्वमा मात्रै अघि बढ्न सक्ने निष्कर्ष निकाल्दै एमाले उम्मेदवार मल्ललाई सहयोग गर्न सम्पूर्ण दलित समुदाय तथा मतदातामा अपिल गरेको हो ।

भेलामा मुक्ति समाज केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष नन्द विश्वकर्माले दलित समुदायको हकहितका पक्षमा एमालेले स्पष्ट नीति लिएको उल्लेख गर्दै आगामी निर्वाचनमा दलित समुदायको रोजाइ एमाले भएको बताउनुभयो ।
त्यस्तै, खजुरा गाउँपालिकाका पूर्व उपाध्यक्ष एकमाया विकले क्षेत्र नम्बर ३ का दलित समुदाय आसन्न निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी बनाउन एकजुट भएको बताउनुभयो ।
कार्यक्रममा क्षेत्र नम्बर ३ का विभिन्न वडाबाट दलित अगुवाहरूको सहभागिता रहेको मुक्ति समाज बाँकेका अध्यक्ष लिलबहादुर नेपालीले जानकारी दिनुभयो ।
