Tuesday, February 3सत्यम खबर
Shadow

महासचिवलाई कारवाही गरिएको हो, भ्रममा नपरौं : अध्यक्ष अशोक राई

नेपालगन्ज, २० माघ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले इस्तियाक राईले पार्टीलाई धोका दिएकाले कारवाही गरिएको स्पष्ट पारेका छन् । पार्टीका महासचिव समेत रहेका इस्तियाक राईलाई चुनाव जित्नका लागि राजनीतिमा अनैतिक कार्य गरेकाले कारवाही गरिएको अध्यक्ष राईले बताए । अध्यक्ष राईका अनुसार पार्टीको आधिकारिक निर्णय र सिद्धान्तलाई चुनौती दिने गतिविधि सहन नसकिने भन्दै उनले इस्तियाक राईको कदमलाई पार्टीप्रतिको विश्वासघातका रुपमा व्याख्या गरेका छन् ।

अध्यक्ष राईले भने, “पार्टी छोडेको छैन भन्ने, तर एमाले अध्यक्ष केपी ओलीबाट सूर्य चिन्ह लिएर चुनाव लड्न आउने कार्य राजनीतिमा अनैतिक मात्र होइन, पार्टी अनुशासनमाथिको ठाडो प्रहार हो ।” बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार इस्तियाक आफु जसपाको महासचिव नै भएको भन्दै नेता तथा कार्यकर्तालाई भ्रम पार्दै आएका छन् । यसअघि जसपा नेपालबाट चुनाव जितेका कतिपय जनप्रतिनिधिहरुलाई पनि इस्तियाकले भ्रममा पार्दै आफ्नो चुनावी अभियानमा हिडाएका छन् । तर पार्टीको निर्णय विपरीत कार्य गर्ने नेता तथा कार्यकर्तामाथि जसपाको केन्द्रीय नेतृत्वले भने निगरानी बढाएको छ ।

पार्टी हित विपरीत कार्य गरे उनीहरुलाई कारवाही गरिने पार्टीका केन्द्रीय कार्यालय सचिव योगराज लिम्वुले बताए । कार्यकर्तालाई भ्रम पार्दै हिडेपछि इस्तियाकलाई सोमवार नै जसपाको साधारण सदस्य समेत नरहने गरी पार्टीले कारवाही गरिसकेको छ । जसपा केन्द्रीय कार्यालय सचिव लिम्बुले भने, “पार्टी हित विपरीत काम गर्ने नेता तथा कार्यकर्तामाथि केन्द्रीय नेतृत्वले निगरानी बढाएको छ । पार्टी अनुशासन उल्लंघन गर्ने कार्य स्वीकार्य छैन ।”
नेपालगन्जमा रहेको जसपाको पार्टी कार्यालयमा अहिले सूर्य चिन्ह अंकित इस्तियाकको फोटोसहितको नेकपा एमाले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.२ बाँके निर्वाचन परिचालन सम्पर्क कार्यालयको बोर्ड टाँसिएको छ । यसअघि उक्त ठाउँमा जसपाको वोर्ड राखिएको थियो ।
जसपाले नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालसँग संयुक्त रूपमा आगामी फागुन २१ गते हुने निर्वाचनमा एकीकृत चुनाव चिन्ह जाँतो (चकिया) लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । तर इस्तियाकले पार्टीको आधिकारिक निर्णयविपरीत नेकपा (एमाले) को चुनाव चिन्ह “सूर्य” बाट उम्मेदवारी दर्ता गराएर चुनावी प्रतिस्पर्धामा छन् ।
इस्तियाक राईको कदमप्रति पार्टीका धेरै सक्रिय कार्यकर्ता असन्तुष्ट देखिएका छन् । उनीहरूले चुनाव जित्ने उद्देश्यले जुनसुकै पार्टीसँग सहकार्य गर्ने प्रवृत्तिले पार्टीको विचार र संगठन कमजोर हुने आशंका व्यक्त गरेका छन् । स्थानीयका अनुसार, यस्ता घटनाले पार्टी भित्रको एकता र संगठनात्मक मजबुतीमा दीर्घकालीन असर पार्न सक्छ । विशेषगरी मधेस केन्द्रित राजनीतिमा आधारित दलहरूका लागि कार्यकर्ता र मतदाताबीच विश्वास कायम राख्नु पर्ने ठाउँमा इस्तियाकले त्यसलाई धोका दिएको कार्यकर्ताहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *