
आहै ! पूर्वैको मारुनी !
हजुर पश्चिमैको बुरुङ्से
नसोधे है गीतांगेको गाउँ, ल है नसोधे है गीतांगेको गाउँ
बाँचे हाम्रो सँगै घरबार, मरे होला जगतैमा नाउँ…

२२ वर्षसम्म कसैले जित्न नसकेको मेरो निद्रालाई आजकल ‘नेटफ्लिक्स’ले औंलामा नचाउन थालेको छ । अस्ति ‘दि एन्ड अफ द फ***वर्ल्ड’ सिरिजका दुइटा ‘सिजन’ एकै रातमा हेरेर सकेँ । आँखा निद्रा नपाएको रिसले राता भइसकेका थिए ।
निदाउन सजिलो हुन्छ कि भन्दै युट्युबमा ‘आज जाने की जिद ना करो’ गीत बजाएर ‘अटोप्ले’ मा छाडिदिएकी थिएँ । तेस्रो गीत आइपुगेपछि बीच्चमा युट्युबले आफैं एउटा नेपाली गीत बजाएछ । एक्कासि ‘दसैं दिक्पाल’ नाम गरेको भिडिओमा राजेशपायल राईको स्वर सुनियो ।
बिहान उज्यालोले झ्याल छुनै लाग्दा बज्यो–
बाँचे हाम्रो सँगै घरबार, मरे होला जगतैमा नाउँ…
गीत सुनिसक्दा, थाकेर निद्रा खोजेका मेरा आँखा रिसाएनन्, निद्रा खुल्छ कि जसरी रसाए ।
लगभग चार वर्षकी हुँदादेखि नाच्न सुरू गरेकी हुँ रे म । पहिले खुट्टाले हिँड्न सिकेँ। त्यसपछि खुट्टा, हात, आँखा सबले गीतको तालमा दौडिन
सिकिहालेँ । कहिल्यै कसैले कर गर्नै परेन ।
घरमा पाहुना आएर दुई–चार जना मात्रै जम्मा भए पनि मेरो शरीर आफ्नै लयमा मर्किन
थाल्थ्यो । निबुवाको रस, अमिलो चुक, मुख नै रसाउँछ, ओइलेर जाने, दुई दिने जोवन, सबैलाई लोभ्याउँछ
मनकी चरी उडी उडी
आकाश छोऊँ भन्छ…
म आफैं गीत गाउँदै, आँखा घुमाउँदै ‘उडी उडी’ नाच्थेँ ।
घरमा मबाहेक अर्को एउटा मात्रै कलाकार थियो जो गाउन सक्थ्यो– चौध इन्चको चारकुने टिभी ।
तर, त्यो टिभी सजिलै गीत गाउँदैनथ्यो । बिछट्टै अखट्टी । उसले गाउन पहिले त बिजुली आएको हुनुप¥यो । त्यसपछि टिभी खोल्न बाको अनुमति पाउनुप¥यो । एन्टेना सही ठाउँमा अडिनु प¥यो । अनि यो सब मिलेपछि समाचारको सट्टामा विपना थापा, करिष्मा मानन्धरलाई देखाउन ती टिभीभित्रका मान्छेको सूर चल्नुप¥यो ।
यतिका साइत त औंसी–पूर्णेमा मात्रै जुर्ने ।
त्यही भएर केही वर्ष मेरी ‘उडी उडी’ नाच्ने मनकी चरीलाई सजिलो हावा दिएर सघाइदिने कोही भएन ।
आठ वर्ष पुग्दासम्म लोसे खेलाडीझैं एक्लै नाचेपछि अकस्मात् एकदिन मेरो समूहमा एउटा चुस्त खेलाडी थपियो ।
दिनदिनैको लोडसेडिङले हैरान पारेको थियो । लगभग हरेक रात प्रयोग हुने भएर होला– टुकिमाराको ब्याट्री मेरो स्कुलको सिसाकलमभन्दा पनि छिटो सकिन्थ्यो । दिक्क परेर आमा अलि सजिलो बाटो खोज्दै हुनुहुन्थ्यो, बाले बजारबाट नयाँ उपाय किनेर ल्याउनुभएछ ।
घरमा भित्रियो– गाढा रातो रङले लपक्क पोतेको इमर्जेन्सी लाइट ।
बत्ती बाल्न ल्याइएको इमर्जेन्सी लाइटले बत्ती मात्रै बालेन । बाले एक–एक ठाउँ देखाउँदै बुझाउन थाल्नुभयो । छेउमा थिचेपछि एफएम बज्ने रहेछ । अझ अघिल्तिर क्यासेट हालेर प्याट्ट पारेपछि त गीत बजाउन पनि मिल्ने रहेछ ।
म यति सुन्दै बुर्लुक्क उफ्रिन थालेँ ।
अब त्यो अखट्टी टिभीलाई कट्टी ।
अब न बिजुली चाहियो, न एन्टेना, न बाको अनुमति । एउटा क्यासेट किनेर ल्याएपछि जतिबेला पनि नाच्न पाइने भयो ।
एकादशी, संक्रान्तिमा पाएको दक्षिणा, रूचि, रमपमको भागबाट कटौती गर्दै जम्मा गरेपछि मात्रै मलाई एउटा क्यासेट किन्न पैसा पुग्थ्यो । त्यसमाथि बजारबाट ल्याइदिने दादालाई छुट्टै ‘घुस’ चाहियो । हुन त कहिलेकाहीँ बालाई भनेको भए पनि पैसा दिनुहुन्थ्यो होला । तर केटीलाई आफ्नै कमाइमा नाच्न मन थियो । मान्छेका रहर नि !
यही रहरको फल, त्यो इमर्जेन्सी लाइटले घर भित्रिएको पाँच संक्रान्तिपछि बल्ल गीत गाउने मौका पायो । क्यासेट आयो– ‘मुग्लान’ फिल्मका गीतहरूको एल्बम ।
त्यसपछि त घरमा जतिबेलै घन्किन थाल्यो–
आज बाह्र हाते पटुकीको कुरा गर मायालु
तिम्रो रोधी घर, मारुनीको कुरा गर मायालु
मलाई छम छम छम नाच्न मन लाग्यो…
म ‘उडी उडी’बाट ‘छम छम’ नाच्ने भएँ ।
केही महिना छम छम नाचेपछि विस्तारै मेरा खुट्टाले भाउ खान थाले । अब मलाई नाचेर मात्रै पुगेन, देख्न मन लाग्यो । हेर्न मन लाग्यो ।
फुच्ची केटीको फुच्चे मनले गम्न थाल्यो–
–यो क्यासेट भित्रकी केटी चाहिँ कसरी पो नाच्छे होला ?
–कतिबेला कसका लागि गीत गाउँदी हो ?
–कसरी आँखा घुमाउँदी हो ?
अब मेरा बल्ड्याङ्ग्रे आँखाले छम छम सपना देख्न थाले– फिल्म हेर्ने सपना ।
मेरो सपना चार वर्ष बुढो अनि म १४ वर्षकी जवान भएपछि एकदिन बा फेरि एउटा डब्बा बोकेर घर आउनुभयो । यसपालि चाहिँ बाले इमर्जेन्सी लाइटको पालामा जसरी ‘डब्बा यस्तो हो, यसरी चलाउने हो’ भन्दै केही सिकाउनु परेन ।
त्यतिन्जेलसम्म दादा र म दस ठाउँका दस कुरा देखी भ्याएर घरका दुई विशेषज्ञ नै भइसकेका थियौं । हुन त म दादाकी पुच्छर थिएँ । तर पुच्छर नै भए पनि विशेषज्ञको पुच्छर हो । म पुच्छर विशेषज्ञले थाहा पाइहालेँ, यो चिटिक्क डब्बाभित्र मेरो चार वर्षदेखिको रहर पूरा गर्ने चिज आएको थियो ।
चक्का हालेर जतिबेलै फिल्म हेर्न मिल्ने जिनिस – ‘डेक’ ।
घरमा ‘डेक’ आएर बसेसँगै फिल्मको नयाँ भूत पनि टाउकैमा आएर थ्याच्च बस्यो । तर, यो भूत बढो महँगो रहेछ । दुई–अढाई सय खर्च गर्दा पनि जम्मा एउटा नेपाली फिल्मको चक्का किन्न पुग्थ्यो । त्यही कारण एकजनाले किनेपछि एउटा चक्का गाउँभरिका डेकवाला घरमा भ्रमण गर्न निस्किन्थ्यो ।
महँगो चक्कालाई त प्रायः हामी सकुशलै घुमफिर गराउँथ्यौं । कहिलेकाहीँ कुनै चक्का भने भर्खर दारी फालेको चिटिक्क हिरो जस्तो पठायो, फर्किँदा भर्खर पुलिस थाना आक्रमण गरेर फर्केको माओवादी
लडाकू भएर फर्किने । मुखभरी घाउ कोतरिएर छ्यासम्यास् ।
‘नेपाली फिल्म हेर्न पनि कोही पैसा खर्च गर्छ ?’
यस्तो बौद्धिक तर्क त्यो बेला मजस्ता पुच्छर विशेषज्ञलाई कहाँ आओस् ! अहिले साथीभाइबीच किताब सापट मागेर, साटेर पढिन्छ । त्यो बेला हामी साथी–साथी भएर फिल्मका चक्का साट्दै, सापट माग्दै धेरै फिल्म हेर्थ्यौं ।
फिल्म हेर्दैमा पिटाइ खाइहाल्ने खालको घर त होइन तर घरका पैसाले फिल्मलाई फजुल खर्चको तक्मा लाइदिएका थिए । त्यसैले एउटा चक्का किनेपछि अर्को किन्ने पैसा जम्मा पार्न अलि समय कुर्नुपर्थ्यो । त्यतिन्जेल गाउँभरिका अरू चक्का हाम्रो घर भ्रमण गर्न आउँथे ।
सबभन्दा धेरै चक्का हुन्थे विदेश गएर बेला–बेला मात्रै गाउँ फर्किने मान्छेका घरमा । उनीहरूका चक्का हामी केटाकेटीले किनेका चक्काझैं भ्रमण गर्न भने पाउँदैनथे । हाम्रा चक्का बेरोजगार गाउँ डुलुवा थिए अनि उनीहरूका काठमाडौं बसेर दाङबाट चुनाव लड्ने सांसदजस्ता । आक्क्ल–झुक्कल मात्रै देख्न पाइने ।
एकदिन त्यस्तै एउटा सांसद चक्का भित्रियो घरमा । चक्काको खोलबाहिर दिलीप रायमाझी, निरुता सिंहको अनुहारसँग टाँसिएर लेखेको थियो– ‘बन्धकी’ ।
त्यो वर्ष स्कुलको वार्षिकोत्सवमा ‘उडायो मेरो मखमली पछ्यौरी…’ गीतमा नाचेको दिनदेखि मलाई ‘बन्धकी’ फिल्म जसरी पनि हेर्नै पर्ने भएको थियो ।
‘निरुता त्यो गीतमा कुन बेला नाच्छे, अनि गीत सक्किएर दिलीप आएपछि के हुन्छ होला ?’ यति थाहा नपाउँदासम्म अब खाएकै पच्दैन जस्तो ।
त्यही मनको पेट अपचले फुलिरहेकै बेला थाहा पाएँ, बन्धकीको चक्का त छिमेकी खत्री काकाको घरमा छ रे !
काका भर्खर दुबईबाट आएका थिए । घरमा कोही सानो मान्छे थिएन । त्यसैले त्यो घर हामी केटाकेटीको चक्का साटासाट अद्रामा पर्दैनथ्यो ।
अब यो चक्का पाउन दस तिकडमबाजी गर्नुपर्ने भयो । लगातार चार दिनसम्म काकीका अगाडि आफ्नै निन्याउरो अनुहार बन्धकी राखेपछि बल्ल मैले ‘बन्धकी’को चक्का घर भित्र्याउन सकेँ । चक्का दिँदा नै काकीले ठाडो हुकुम बक्सियो, ‘एउटा ठाउँ पनि नकोरेर, जस्तो पठाको छ त्यस्तै चिल्लो चक्का फिर्ता गर्नू है नानी । त्यो पनि तीन दिनभित्रै !’
एकदिन पनि को कुर्न सकोस् ! चक्का ल्याएकै दिन घरमा चलिहाल्यो– सामाजिक तथा पारिवारिक कथानक चलचित्र ‘बन्धकी ।’
फिल्म आधा आधा पुग्न थालेको थियो होला, म त हेर्दाहेर्दै यति धेरै रोएछु, अरूबेला म रुँदा जहिल्यै नानाथरी अनुहार बनाएर जिस्काउने दादा पनि त्यो दिन चुप लागेर बस्नुभयो ।
‘बाँचे हाम्रो सँगै घरबार, मरे होला जगतैमा नाउँ…’ भन्दै जब निरुता र दिलिप भेटिएर एकै अँगालोमा बेरिए, त्योसँगै मैले पनि एकथोक भेट्टाएँ । १४ वर्षमै केटीको ‘लाइफको सबभन्दा फेभरेट फिल्म’ घोषणा भयो बन्धकी ।
दुई दिने फिर्ता म्यादमा मैले एउटै फिल्म तीन पटक हेरेर भ्याएँ । पर्सिपल्ट चक्का फिर्ता गर्न फिटिक्कै मन थिएन । तर काकीले आफैं घरको काम गर्ने दाइलाई चक्का लिन पठाइसक्नु भएछ । बिहान म उठ्न नपाउँदै, मेरो प्यारो फिल्म उठेर हिँड्यो, मलाई अन्तिम पटक अनुहार पनि देखाउन नपाई ।
बाहिर अरूका अगाडि त केही भनिनँ । त्यति जाबो कुरामै रोइहाल्नु आफैंलाई नाटक लाग्ने उमेर भइसकेको थियो । तर भित्र भतभती पोल्यो । आफूले किनेको चक्का भएको भए त्यसरी फिर्ता दिनै पर्ने थिएन । मन थकथक मान्न थाल्यो ।
अहिले सम्झिन्छु, त्यो दिन आमाले टीका लगाइदिँदा फिल्मको हिरोझैं फूर्ति दिँदै भनेकी थिएँ, ‘आमा, मलाई आशीर्वाद दिनुस् । एकदिन म ठूली भएर जागिर खान्छु, अनि आफ्नै पैसाले बन्धकीको चक्का किन्छु। कसैले फिर्ता नलग्ने गरी ।’
आज आमासँग यो आशीर्वाद मागेको लगभग ८ वर्षपछि फेरि बन्धकीको त्यही गीत सुनेँ,
बाँचे हाम्रो सँगै घरबार, मरे होला जगतैमा नाउँ…
यसपालि गीत सुन्न र हेर्न इमर्जेन्सी लाइट, क्यासेट, डेक केही चाहिएन । म हुर्किँदा सँगसँगै धेरैथोक हुर्किसकेका रहेछन् । सुरूमा केबल टिभी छ्याप्छ्याप्ती भयो, पछि कम्प्युटर आयो । अहिले मेरो काखमा लुटपुटिएको ल्यापटप छ । हुन त ल्यापटपमा पनि चक्का राख्ने ठाउँ छ। तर त्यो फिल्मका चक्का राख्न प्रयोग हुँदैन । हेर्दाहेर्दै फिल्मका चक्का युद्धका माओवादी लडाकूझैं विस्थापित भए ।
आज यो गीत सुनेको हातैको मोबाइलमा हो । अब मन लागेका बेला गीत सुन्न पाइन्छ । यो हातमा अट्ने मोबाइल कत्ति अटेरी छैन । युट्युबले टिभीजस्तो नानाभाँती बहाना गर्दैन । इन्टरनेटमात्रै जोडिदिए फुरुंग परेर बज्न थाल्न्छ ।
ठूली भएछु क्यार, अब साथमा आफ्नै मिहेनतले कमाएको केही पैसा पनि आइसक्यो । अब आफूले किनेपछि केही कुरा कसैलाई कहिल्यै फिर्ता गर्नु पर्दैन । सबै सजिलो छ तर पनि सपना पूरा भएको छैन ।
अहिले बन्धकी फिल्म युट्युबमा छ। तर, युट्युबमा मात्रै छ । जिन्दगीबाट लगभग लोप भइसक्यो । बन्धकी हेर्दाको त्यो उमेर पनि बन्धकीमै बसेछ ।
पूर्वको मारुनी नेपालको पूर्वमै लगभग लोप भइ सक्यो । अब पूर्वको मारुनी बस् ‘भ्युज’ गन्दै युट्युबमा
छ । युट्युबमा मात्रै छ ।
पश्चिमको बुरुङ्से पश्चिममै लगभग लोप भइ सक्यो । बुरुङ्से पनि युट्युबमा भ्युज गन्दै छ । यूट्युबमा मात्रै छ ।
यति राम्रो गीत लेखिदिने को हुन् ? उनी पनि सायद लोप भइसके । उनको नाम त युट्युबमा समेत छैन ।
ती गोलागोला चक्का पनि लोप भइसके । अनुहारभरि छ्यासम्यास कोतरिएका ती गोला चक्का, जसलाई म हत्केलामै राखेर सुम्सुम्याउँथे, अहिले ती कुनै फोहोरको डंगुरमा कुहिन नसकेर उकुसमुकुस भइरहेका होलान् । कोही ‘रिसाइकल’ भएर अर्कै सामान बने होलान् ।
म पनि त अर्कै भइसकेकी छु । तर म चाहिँ ‘रिसाइकल’ हुन नमिल्ने रहेछ । मिल्ने भए म त्यही फुच्ची बन्थेँ जो हातैमा पखेटा भएझैं उडी उडी
नाच्थी । आफैं गीत गाउँथी–
मनकी चरी उडी उडी आकाश छोऊँ भन्छ …
जो फिल्ममा बजेको एउटा गीतले छोएर फिल्म सकिउन्जेल निथुक्कै गाला भिजाउँथी–
बाँचे हाम्रो सँगै घरबार, मरे होला जगतैमा नाउँ…
त्यो चरीलाई न उड्न आकाश चाहिन्थ्यो, न रुन बाथरुम । अहिलेकी यो चरी त बन्धकी भइसकी ।
रिलवाला चक्कामा कहिलेकाहीँ रिल चेपिन्थ्यो । गीत बज्न बन्द हुन्थ्यो । रिल निकालेर म काम नलाग्ने भाग काट्थेँ । बाँकीलाई टेपले टालेपछि फेरि गीत बज्थ्यो। म फेरि नाच्न थाल्थेँ ।
तर, काटिएको भागको गीत हराएर जान्थ्यो । फेरि त्यो चक्कामा त्यो गीत पूरै कहिल्यै सुन्न पाइएन ।
खै, मलाई पढाइले चेप्यो कि यो रिलझैं घुम्नुपर्ने जीवनले चेप्यो, म पनि अलिकति फेरिएकी छु । म अर्कै भएकी छु ।
अब थाहा छैन, मभित्र चेपिएको त्यो गीत फेरि बज्ला कि नबज्ला !
थाहा छैन, म फेरि पूरै हुँला कि नहुँला !
थाहा छैन, यसरी बाँच्न पाइरहेँ भने फेरि पखेटा सँगसँगै घरबार होला कि नहोला !
थाहा छैन, केही गरी भोलि मरिहालेँ भने जगतमा मेरो नाम होला कि नहोला !
स्रो.ः सेतोपाटी अनलाईनबाट)
