
बागलुङ, २८ कार्तिक – राष्ट्रिय सहकारी बैंकले बागलुङका दुई सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई शुक्रवार एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।

बैंकको बागलुङ शाखामा उत्कृष्ट कारोबार गर्ने प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र नियमित कारोबार गर्ने लखन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो । प्रगति बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णप्रसाद शर्मा (कुमार) र प्रवन्धक मुना शर्मा तथा लखन सहकारीका अध्यक्ष खड्कबहादुर पुन र प्रवन्धक होमबहादुर थापालाई प्रतिनिधि सभाका सदस्य मन कुमारी जिसी केसी र राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जि.सी. (अञ्जु)ले सम्मानपत्र सहित पुरस्कृत गर्नु भएको थियो ।

सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६ औ वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बैंकले जनाएको छ ।
पुरस्कार वितरण कार्यक्रममा प्रतिनिधि सभाका सदस्य तथा नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष मनकुमारी जिसी केसीले सहकारीमार्फत समाज रुपान्तरणका लागि राज्य र सहकारीबीच समन्वयकारी भूमिका आवश्यक रहेकोमा जोड दिनुभयो । विपन्न वर्गका जनतालाई आर्थिक रुपमा सक्षम बनाउनका लागि सहकारी उपयुक्त माध्यम भएकोले सहकारीको संस्थागत विकासमा राज्यको भूमिका बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
