Tuesday, October 22सत्यम खबर
Shadow

उत्तर कोरियाली सैनिक युक्रेनमा रूसका लागि युद्ध लड्दै

काठमाण्डौ, २८ असोज – उत्तर कोरियाले आफ्ना सैनिकलाई युक्रेनमा रूसी सेनाको मद्दतका लागि तैनाथ गरेको छ ।

गत साता युक्रेनी समाचार संस्था इन्टरफेक्स–युक्रेन र कियभ पोस्टले युक्रेनको खुफिया विभागको स्रोतको हवाला दिँदै एक प्रतिवेदन जारी गरेको थियो ।

उक्त प्रतिवेदनमा अक्टोबर ३ मा डोनबासमा रूसको कब्जामा रहेको क्षेत्रमा युक्रेनले मिसाइल आक्रमण गर्दा उत्तर कोरियाली सेनाका ६ अधिकारी मारिएका र ३ जना घाइते भएका उल्लेख छ ।

बीबीसीको हिन्दी अनलाइन संस्करणले स्रोतको हवाला दिँदै उत्तर कोरियाली सेनाका अधिकारीहरूको एक समूह आफ्ना रूसी सहयोगीहरूसँग भेट्न र उनीहरूसँग ‘अनुभव साझा गर्ने’ उद्देश्यका साथ युक्रेनको रुसी नियन्त्रित भूमिमा गएका बताइएको छ ।

के यो दाबीमा सत्यता छ ?

युक्रेनको खुफिया विभागले गतवर्ष पनि एक प्रतिवेदन जारी गरेको थियो । उक्त प्रतिवेदनमा उत्तर कोरियाका सैन्य अधिकारिको एक सानो समूह युक्रेनको रूसी नियन्त्रित क्षेत्रमा गएको थियो ।

यसवर्ष अक्टोबर ८ मा दक्षिण कोरियाका रक्षामन्त्री किम योङ युनले भनेका थिए, ‘युक्रेनमा रूसको मद्दतका लागि उत्तर कोरियाका सैनिक तैनाथ गरिने सम्भावना बढी छ ।’

उनले उत्तर कोरियाका सैन्य अधिकारिहरूको रूसको कब्जा रहेको क्षेत्रमा मृत्यु भएको भनेर गरिएको दाबी पनि सत्य हुन सक्ने ‘सम्भावना अत्यन्तै’ रहेको जिकिर गरेका थिए ।

गत जुन महिनामा उत्तर कोरियाली शासक किम जोङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच विस्तृत रणनीतिक साझेदारीसम्बन्धी एक सन्धिमा हस्ताक्षर भएको थियो ।

दक्षिण कोरियाली मन्त्री युनले यसबारे योनहेप समाचार एजेन्सीको दक्षिण कोरियाली संस्करणसँग भनेका छन्, ‘रूस र उत्तर कोरियाबीच भएको सम्झौता सैन्य गठबन्धन समान छ । यस्तोमा उत्तर कोरियाले आफ्ना सेनालाई त्यहाँ पठाउने सम्भावना बढी छ ।’

यसअघि पनि उत्तर कोरियाली सैनिकहरू युक्रेनमा रूसको मद्दतका लागी तैनाथ गरिएको समाचार सार्वजनिक भएको थियो । सन् २०२३ सेप्टेम्बरमा रुसी राष्ट्रपति पुटिनले उक्त समाचारलाई ‘बकवास’ भनेका थिए । त्यो बेला उनी रूसको वास्तोचन स्पेस सेन्टरमा उत्तर कोरियाली शासक किम जोङ उनसँगको भेटघाटमा व्यस्त थिए । खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *