Thursday, November 21सत्यम खबर
Shadow

नेपालगन्जका सडकबाट छाडा पशुचौपाया काञ्जीहाउस लगिँदै

नेपालगन्ज, २० असोज – सडकमा छाडा छोडिएका पशुचौपायाको बिगबिगीले दुर्घटनाको जोखिम बढाएपछि नेपालगन्ज उपमहानगरपालिकाले प्रत्येक शनिबार सडकमा छाडा छोडिएका पशु चौपायालाई काञ्जी हाउस पुर्याउने गरेको छ ।

शनिवारको दिन नगरका विभिन्न सडकमा छरिएर रहेका पशु चौपायालाई एकत्रित गरेर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तास्थित काञ्जी हाउस पुर्याउने गरिएको हो । नगर प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरीको संयुक्त टोलीले छाडा पशु चौपायालाई कान्जी हाउस पुर्याउने गरेको छ । यो शनिवार पनि ५८ वटा पशु चौपायालाई काञ्जी हाउस लगिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए । बोगटीका अनुसार गाई तथा बाच्छा बाच्छी ३४, १५ वटा घोडा र ९ वटा बाख्रालाई काञ्जी हाउस पुर्याइएको छ ।

घरधनीले आफ्नो पशुहरु सडक मै छोडि दिने र खुला सीमा नाकाका कारण पनि नेपालगन्जका सडकमा छाडा पशु चौपायाको संख्या उल्लेख्य हुने गरेको छ । छाडा पशुका कारण साना ठूला दुर्घटना भइरहेका हुन्छन् । कतिले ज्यानै गुमाउनु परेको अवस्था छ भने कति घाइते हुने गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आ–आफ्ना पशुचौपाया घर मै बाँध्न आग्रह गर्दै आएका छन् । तर, छाडा छोड्ने प्रबृत्ति रोकिएको छैन । नगर प्रमुख विष्टले नगरबासी सबैले यसमा गम्भीरता देखाउनुपर्ने बताए । “छाडा पशुरहित सडक बनाउन सबैको सहयोग आवश्यक छ,“ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *