Tuesday, October 22सत्यम खबर
Shadow

तीन ठुला पेट्रोलियम परियोजना निर्माण गर्न भारतले १५ अर्ब अनुदान दिने, दिल्लीमा भयो सम्झौता

काठमाण्डौ, १८ असोज – भारतको १५ अर्ब रुपैयाँ अनुदानमा तीन ठुला पेट्रोलियम परियोजना निर्माण गर्न नेपाल आयल निगम लिमिटेड र इन्डियन आयल कर्पोरेसन (आइओसी)बिच बिहीबार दिउँसो दिल्लीमा सम्झौता भएको छ । आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अमलेखगन्ज–चितवन र सिलगुढी–झापा पाइपलाइन तथा झापामा ४० हजार किलोलिटरभन्दा बढी क्षमताको भण्डारणगृह भारतीय अनुदानमा निर्माण गर्न सम्झौता भएको हो ।

‘आइओसीका माध्यमबाट भारत सरकारले नाै अर्ब ३७ करोड भारु (१४ अर्ब ९९ करोड २० लाख नेपाली रुपैयाँ) खर्चने गरी नेपालमा तीन ठुला परियोजना निर्माण गर्न सम्झौता सम्पन्न भएको छ,’ नयाँदिल्लीबाट टेलिफोन सम्पर्कमा भट्टले भने ।
उनका अनुसार चितवनमा निगमले नै निर्माण गर्ने करिब एक लाख किलोलिटर क्षमताको भण्डारणगृहमा आइओसीले प्राविधिक सहयोग गर्ने पनि सम्झौता भएको छ । चितवनमा निर्माण गर्ने भण्डारणगृहको लागत आठ अर्ब ६७ करोड २० लाख रुपैयाँ मूल्यांकन गरिएको छ । सम्झौतापछि निर्माण कार्य तुरुन्त अघि बढ्ने भट्टले जानकारी दिए ।

‘अब भारतीय अनुदानमा तीनवटा र निगमले बनाउने एउटा गरी कुल चारवटा परियोजनाको काम छिट्टै अघि बढ्छ,’ उनले भने, ‘यो परियोजनाको निर्माणले विषम परिस्थितिमा पनि पेट्रोलियम पदार्थ आपूर्ति गर्न सहजता ल्याउनेछ ।’ भारतीय अुनदानमा तीनवटा परियोजना अघि बढाउन डेढ वर्षअघि नै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबिच समझदारी भइसकेको थियो ।

प्रधानमन्त्रीस्तरमा भएको समझदारीलाई दुवै देशका तेल कम्पनीले कार्यान्वयन गर्ने सर्त भएअनुसार निगम र आइओसीबिच बिहीबार दिउँसो अन्तिम सम्झौता भएको हो । नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *