Tuesday, October 22सत्यम खबर
Shadow

इजरायली आक्रमणमा हेजबुल्लाहका दुई वरिष्ठ नेता मारिए

काठमाण्डौ, १४ असोज – इजरायलले लेबनानमा गरेको आक्रमणमा हेजबुल्लाहका अर्का दुई नेता मारिएका छन् । इजरायली सेनाले दक्षिणी लेबनानमा शनिबार गरेको हवाई आक्रमणमा हेजबुल्लाह नेता नबिल क्वाउक र कमाण्डर अलि कराकीको ज्यान गएको हो ।

हेजबुल्लाहले इजरायली सेना आईडीएफले गरेको आक्रमणमा कराकीको ज्यान गएको पुष्टि गरेको बीबीसीले जनाएको छ । कराकी हेजबुल्लाहको दक्षिणी मोर्चाका कमाण्डर हुन् । तर क्वाउकको मृत्युबारे भने केही उल्लेख गरेको छैन ।

१९८० मा हेजबुल्लाहमा आबद्ध भएका क्वाउक यसअघि संगठनको उपप्रमुख थिए । पछि उनी हेजबुल्लाहको दक्षिणी लेबनान क्षेत्रको प्रमुख थिए ।

हेजबुल्लाह प्रमुख हसन नसरल्लाह मारिएसँगै क्वाउकले संगठनको प्रमुखको जिम्मेवारी सम्हाल्ने अनुमान गरिएको थियो । नसरल्लाह इजरायली सेनाले शुक्रबार बेरुतमा गरेको हवाई आक्रमणमा मारिएका थिए । आईडीएफले आक्रमणमा नसरल्लाहसहित अन्य वरिष्ठ नेताहरू मारिएको दाबी गरेको थियो । आईडीएफले ती आक्रमणमा हेजबुल्लाहका कमाण्डर मोहम्मद अलि इस्मेल र उनका सहयोगी हुसेन अहमन इसमेल पनि मारिएको जनाएको थियो ।

आईडीएफले हेजबुल्लाहलाई लक्षित गर्दै लेबनानको राजधानी बेरुतलगायत स्थानमा आइतबार पनि आक्रमण जारी राखेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबारमात्रै १७ जना मारिएका अल जजिराले जनाएको छ ।

एक सातायता आईडीएफले गरेका आक्रमणमा लेबनानमा कम्तीमा ८ सय जनाको ज्यान गइसकेको छ । इजरायलले त्यस्ता आक्रमण हेजबुल्लाहका सैन्य अखडालक्षित भएको जनाएको छ । तर इजरायली आक्रमणमा ज्यान गुमाउनेमध्ये कैयौं सर्वसाधारण छन् । आक्रमणपछि दक्षिणी लेबनान र बेका क्षेत्रबाट हजारौं विस्थापित भइसकेका छन् । कान्तिपुर (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *