Monday, November 25सत्यम खबर
Shadow

बंगलादेशी सेनाले बैठक गरेर बल प्रयोग नगर्ने निर्णय गरेको खुलासा

काठमाण्डौ, २३ साउन – बंगलादेशी सेनाले आइतबार राति आन्दोलनलाई बल प्रयोग गरेर दबाउन अस्वीकार गरेपछि लगातार १५ वर्ष शासन गरेकी शेख हसिना देश छाड्न बाध्य भएको खुलासा भएको छ।

देशभरबाट लाखौं आन्दोलनकारीहरू ढाका पुगेर प्रधानमन्त्री निवास घेर्न थालेपछि ७६ वर्षीय हसिना सोमबार देशै छाडेर भागेकी थिइन्।

सेना प्रमुख वाकर-उज-जमानले आइतबार राति आफ्ना जनरलहरूसँग बैठक गरेर कर्फ्यु लगाउन जनतामाथि गोली प्रहार नगर्ने निर्णय गरेका थिए भनेर समाचार संस्था रोयटर्सले बुधबार खुलासा गरेको छ।

आइतबारको प्रदर्शनमा बल प्रयोग हुँदा ९१ जना आन्दोलनकारी मारिएका थिए। त्यसपछि हसिनाले कर्फ्यु लगाइन् भने आन्दोलनकारीहरूले देशभरका विद्यार्थी र नागरिकहरू सोमबार ढाका गएर प्रधानमन्त्री निवास घेर्ने निर्णय गरेका थिए।

आइतबार राती सेना प्रमुख वाकर-उज-जमानले विषम सुरक्षा स्थितिबारे छलफल गरेर कर्फ्यु पालना गराउन गोली नचलाउने निर्णय गरे। अनि रातिनै प्रधानमन्त्री कार्यलयमा सम्पर्क गरेर हासिनालाई सो निर्णयबारे जानकारी गराएको भनेर रोयटर्सले सो बैठकबारे जानकार भारतीय अधिकारीलाई उद्धृत गर्दै लेखेको छ।

सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल सामी-उद-दउला चौधरीले आइतबार साँझ बैठक भएको पुष्टि गरेको पनि रोयटर्सले जनाएको छ। तर उनले सो बैठक स्थितिको मूल्यांकन गर्न नियमित बैठक भएको भन्दै हसिनालाई साथ दिने-नदिने लगायत के-के विषयमा छलफल भएको भनेर नखुलाएको रोयटर्सले लेखेको छ।

यसभन्दा अघि सेनाले अघिल्लै दिन बैठक गरेरै हासिनालाई दमन गर्न साथ नदिने भनेर निर्णय गरेको खुलासा भएको थिएन। सेनाले आइतबार राति त्यस्तो निर्णय गरेपछि कर्फ्युका बावजुद सोमबार ढाकामा त्यत्रो ठूलो संख्यामा जनता भेला भएका थिए भनेर अहिले बुझ्न सकिन्छ।

हसिनाले देश छाड्नुभन्दा एक घन्टाअगाडि के-के भएको थियो भनेर अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखे पनि सेनाको सो बैठक बारे खुलासा गरेको थिएन।

टाइम्सका अनुसार अन्तिम समयमा पनि हसिना राजीनामा दिने पक्षमा थिइनन्, बरु बल प्रयोग गरेरै आन्दोलनलाई निस्तेज पार्ने योजनामै थिइन्।

सोमबार देशभरका विद्यार्थी र नागरिकहरूलाई ढाका बोलाइएपछि हसिनाले कम आकेको प्रदर्शनमा लाख हाराहारीमा मानिसहरू सहभागी भएको भन्ने सूचनापछि सबै सुरक्षा निकायका प्रमुखहरू प्रधानमन्त्री कार्यालय पुगेर आन्दोलनको अवस्थाबारे बुझाएका थिए।

त्यसका बाबजुद पनि हसिना बल प्रयोग गरेरै आन्दोलनलाई निस्तेज गर्न सकिन्छ भन्ने पक्षमा रहेको न्युयोर्क टाइम्सको समाचारमा उल्लेख छ।

प्रधानमन्त्री हसिनाको योजनामा सेना प्रमुख जनरल वाकर उज-जमान सहमत भएनन्। उनले बल प्रयोग गर्ने प्रधानमन्त्री हसिनाको आग्रहलाई ठाडै अस्वीकार गरिदिए। हसिनामाथि नै सुरक्षा खतरा पैदा भएकाले बरू राजीनामा दिएर र देश छाड्नका लागि जनलर वाकरले सुझाए।

उनले प्रधानमन्त्रीकै रक्षाका लागि ठूलो रक्तपात हुने अवस्था आउन सक्ने र त्यसका बाबजुद पनि यति ठूलो भीड निस्तेज हुने सम्भावना नरहेको बताएका थिए।

जनरल वाकरले अब बल प्रयोग गर्दा धेरै ठूलो रक्तपात हुने बताएर मनाउने प्रयत्न गरे पनि हसिना सहमत नभएको न्युयोर्क टाइम्सले जनाएको छ।

त्यसपछि सेनाप्रमुख वाकरले हसिनाका परिवारसँग कुरा गरे। बेलायतमा बसिरहेकी हसिनाकी बहिनी शेख रेहाना केही दिनअघि मात्रै बंगलादेश आएकी थिइन्।

रेहानाले हसिनासँग गोप्य कुरा गर्ने जानकारी सेनाप्रमुखलाई गराइन्। हसिना कोठाभित्र गइन् र २० मिनेटपछि निस्किइन्। त्यतिन्जेल सेनाप्रमुखहरू ढोकामा हसिनालाई कुर्दै उनको जवाफ पर्खेर बसिरहेका थिए।

बहिनीसँगको संवादपछि केही सकारात्मक देखिए पनि हसिना राजीनामा दिने र देश छाड्ने विषयमा भने सहमत भइसकेकी थिइनन्। उनी त्यतिबेलासम्म पनि बल प्रयोग गर्ने पक्षमै थिइन्। त्यसपछि सेनाप्रमुख जनरल वाकरले अमेरिकामा रहेका हसिनाका छोरा सजीव वाजेदलाई सम्पर्क गरे।

उनले हालत नियन्त्रणबाहिर पुगिसकेको र थप बल प्रयोग गर्न नसकिने अवस्थाको जानकारी गराउँदै राजीनामा गर्नका लागि आमालाई मनाउन भने।

जनरल वाकरले फोन हसिनालाई दिए। छोरा वाजेदसँग कुरा गर्दा हसिना शान्त देखिएकी थिइन्। उनले सहमतिभावमा मुन्टो हल्लाउँदै गरेको त्यहाँ बसेका सुरक्षा प्रमुखहरूले हेरिरहेका थिए।
छोरासँग कुरा गरेपछि मात्रै हसिना राजीनामा दिन र देश छाड्न तयार भइन्।

‘उहाँ देश छाड्न तयार हुनुहुन्थेन। हामीले उहाँको सुरक्षालाई पहिलो प्राथमिकता दियौं। त्यसकारण उहाँलाई देश छाड्न राजी गरायौं,’ भारतीय सञ्चार माध्यमहरूसँगको कुराकानीमा वाजेदले भनेका छन्।

देश छाड्नुअघि हसिनाले प्रधानमन्त्री निवासमै पत्रकार सम्मेलन गरी सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको थियो।

तर प्रत्यक्ष प्रसारणका लागि उपकरणहरू बोकेर आएको गाडी प्रधानमन्त्री निवास नभई सेनाको मुख्यालयतर्फ गएपछि हसिनाले सम्बोधन गर्नसमेत नपाएको बताइएको छ। शक्तिको बागडोर प्रधानमन्त्रीबाट सेना प्रमुखकोमा पुगिसकेको भन्ठानेर उनीहरू पनि सैनिक मुख्यालयमा गएको हुनसक्ने न्युयोर्क टाइम्सले लेखेको छ।

त्यसकारण पनि लगत्तै सेना प्रमुखले सम्बोधन गर्ने समाचारहरू आएका थिए। सेनाप्रमुखले सम्बोधन गर्ने भनेपछि आन्दोलनरत पक्ष पनि प्रधानमन्त्री हसिनाले राजीनामा दिएको अनुमान लगाइसकेका थिए।
लगत्तै सेनाको बख्तरबन्द गाडीसहिको सुरक्षामा हसिनालाई हेलिप्याडसम्म पुर्‍याएर त्यहाँबाट भातरतर्फ उडाएको थियो।

यसको पुष्टि भारतका विदेशमन्त्री एस. जयशंकरले पनि गरेका छन्। मंगलबार संसदमा बोल्दै जयशंकरले अन्तिम समयमा मात्रै प्रधानमन्त्री हसिनाले भारत आउनका लागि अनुमति मागेको बताएका छन्। सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *