
नेपालगन्ज, १ कार्तिक – आज नेपालीहरुको महान पर्व विजयादशमीको पहिलो दिन, अर्थात घटस्थापना हो । नेपाली हिन्दू धर्मावलम्बी नेपाली नागरिकहरुले यो पर्वलाई बडादसैं (विजयादशमी)को पहिलो दिनका रुपमा महत्वका साथ मनाउँने गर्दछन् ।

हिन्दु परम्परा अनुसार आज नवरात्री आरम्भको पहिलो दिन हो । आश्विन शुक्ल पक्ष प्रतिपदालाई घटस्थापना भनिन्छ । आजको दिन दुर्गा भवानीलाई घरघरमा स्थापना गरी राखिने जमरा विजया दशमीको दिन विधिपूर्वक प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ ।
आज बागेश्वरी मन्दिरमा हिन्दु धर्मावलम्बीहरुले आ–आफ्नो घरमा जमरा राख्ने गर्दछन् । आज जमरा राखेपछि दशैंको शुरुवात भएको मानिन्छ । तर गृहमन्त्रालयबाट जारी परिपत्र अनुसार यसपटक स्थानीय बागेश्वरी मन्दिरबाट सो जमरा राखिने नराखिने भन्ने कुरा अन्यौल रहेको पाईन्छ ।
आज राखिएको जमरामा हरेक दिन (९ दिनसम्म) नवमीसम्म जलको अर्पणसहित पूजाआजा गर्ने गरिन्छ । विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा समेत स्थापना गरिन्छ ।
शक्ति स्वरूपा दुर्गाभवानीको नौरुप (शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदात्रीको) पूजा गरिने भएकाले यो चाडलाई विशेषत दुर्गा पूजाका रुपमा समेत मनाउने परम्परा रही आएको पाईन्छ ।

घटस्थापना गरिएको स्थानमा शंख, डमरू, घण्टी बजाउँदै सप्तसति चण्डी पाठ गरी दुर्गा भवानीको स्तुतिगान गरिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पति मध्ये जमरा पनि एक भएकोले अधिष्ठात्री भगवतीलाई खुसी पार्न जमरा उमार्ने चलन परापूर्व कालदेखि रहेको छ ।
आज हरेक हिन्दू परिवारहरुले आ–आफ्नो घरमा जलपूर्ण घडा (कलश) स्थापना गरी त्यसको वरिपरि नौ देवीको स्वरूपको प्रतिमूर्ति तयार गरी गाईको गोबरले देवीहरुका वेदीलाई लेपन गरेर घडाको वरिपरि जौ, मकै लगायतको बिज रोपिन्छ । त्यसलाई जमरा अर्थात देवीको शक्ति र प्रसादको रुपमा लिइन्छ ।
घटस्थापनाका दिन राखिएको जमरालाई नवमीको नवरात्री पुजा सकेपछि सम्बृद्धिको प्रतीक मानेर विजयादशमीका दिन टीकासँगै लगाउने गरिन्छ । जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।
घर शुद्ध भएपछि मात्रै देवीको आगमन हुन्छ भन्ने विश्वासका साथ घटस्थापना अर्थात जमरा राख्नुपूर्व गाउँघरमा भने रातो र कमेरो माटोले तथा सहरमा रङहरुले घर लिपपोत तथा रङरोगन गरिन्छ ।
घटस्थापनाका दिन स्थानीय बागेश्वरी मन्दिरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गा लगायत देवीहरुको पूजा गरिन्छ ।
घटस्थापनाका दिनदेखि आफ्नो मूलघरबाट टाढा रहेका मानिसहरु दसैँ मनाउन आफ्नो घर फर्कन थाल्दछन् । यस बेला सीमानाका रुपैडिहामा भारतबाट घर फर्किने मानिसको भिड लाग्ने गर्दछ ।
बडादसैंको पहिलो दिन घटस्थापना र त्यसपछि फुलपातीदेखि कोजाग्रत पूर्णिमासम्म सरकारी विदा दिइदै आएकोमा यस बर्ष भने नेपाल सरकारले घटस्थापनादेखि नै बडादसैंको विदा दिने निर्णय गरेको छ, त्यसैले कार्तिक १० गतेसम्म १५ दिन विदा हुने बुझिएको छ ।
दशैंभर भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुहेश्वरी, मैतिदेवी, खाडादेवी, कालीमाई, बागेश्वरी मन्दिरलगायत देशका अन्य शक्ति पिठमा दुर्गा भवानीको पूजा आराधना गर्ने गरिन्छ ।
