नेपालगन्ज, ४ वैशाख – नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा चालकहरुलाई सवारी चालक परिचयपत्र वितरण सुरु गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले सुरुआतमा १ सय १७जनालाई चालक परिचयपत्र वितरण गर्नु भएको छ ।
नेपालगन्जमा ई–रिक्सा व्यवस्थापन गर्नको लागि नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय ई–रिक्सा चालकहरुलाई परिचयपत्र, विमा र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिले व्यवस्थापनमा ई–रिक्सा व्यवस्थापनको काम गरिरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले ई–रिक्सा चालकहरुको सुरक्षाको लागि परिचयपत्र सहित स्वास्थ्य विमा गर्ने योजना अगाडी बढाईरहेको बताउनु भयो । उहाँले भन्नु भयो, नेपालगन्जमा ई–रिक्साहरुको व्यवस्थापन गर्न जरुरी छ । ई–रिक्सा चालकहरुले नेपालको कानुन अनुसार सुरक्षित भएर काम गर्ने वातावरण पाउनु पर्छ । उहाँहरुको पेसाको सुरक्षाको लागि, यात्रीहरुको सुरक्षाको लागि हामीले कार्यविधि बनाएर काम गरिरहेका छौं । यसमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।
नेपालगन्ज उपमहानगरपालिकाले वितरण गरेको चालक अनुमतिपत्रले नेपालगन्जका ई–रिक्सा व्यवस्थापनमा सहयोग पुग्ने प्रमुख विष्टले बताउनु भयो ।
नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमारसिंह ठकुरीले ई–रिक्सा चालकहरुलाई विज्ञहरुबाट ट्र्राफिक नियम तथा बिमाहरुको बारेमा अभिमुखिकरण गर्दै चालक परिचयपत्र वितरण गरिने बताउनु भयो ।
मंगलबार नेपालगन्ज उपमहानगरपालिकामा भएको कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका इन्चार्ज वरिष्ट सई प्रविण आर्चायले ई–रिक्सा चालकहरुलाई ट्राफिक नियमहरुको बारेमा जानकारी गराउनु भएको थियो ।