नेपालगन्ज, २ बैशाख – बाँके प्रहरीले चालु आर्थिक वर्षको ८ महिनामा जघन्य प्रकृतीका ६४ मुद्दामा ५४ वटा मुद्दाको फर्च्यौत गरेको छ । बाँके सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीसँगको पत्रकार परिचयात्मक अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले यस्तो विवरण जानकारी गराएको छ ।
अन्तरक्रियामा प्रहरीको कार्य प्रगति विवरण सार्वजनिक गर्दै बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले कर्तव्य ज्यान मुद्दामा ८ मुद्दा दर्ता भएकोमा ६ वटा फर्च्यौत भएको, मानव वेचविखन तथा ओसारपसारमा ९ मुद्दा दर्ता भएकोमा ८ वटा फर्च्यौत भएको, डाँका चोरीमा ५ मुद्दा दर्ता भएकोमा ३ फर्च्यौत भएको जानकारी गराएका छन् ।
त्यसैगरी बाँकेमा जबरजस्ती करणीमा ४२ मुद्दा दर्ता भएकोमा ३७ मुद्दा फर्च्यौत भएको प्रहरी प्रवक्ता डिएसपी डाँगीले जानकारी दिए । प्रवक्ता डाँगीका अनुसार साईबर अपराध सम्बन्धी उजुरीमा ९८ वटा मुद्दा दर्ता भएकोमा ७ वटा मुद्दा मात्र फर्च्यौत भएको छ भने ७८ वटा मुद्दा तालुक कार्यालयमा पठाइएको छ ।
जिल्लामा चैत्र मसान्त सम्ममा १०८६ मुद्दा दर्ता भएकोमा सानेही अवधिमा अनुसन्धानका लागि ५०८१ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डाँगीले बताए । प्रहरीले फैसला कार्यान्वयन तर्फ २३२ जनालाई पक्राउ गरि अदालतमा बुझाएको र २३ लाख ४७ हजार जरिवाना असुल भएको जनाएका छन् ।
अन्तरक्रियामा बोल्दै प्रहरी प्रमुख कार्कीले आफ्नो कार्यकाल मिडियामैत्री बनाउने प्रतिबद्धता ब्यक्त गरे । उनले प्रहरीसँग भएका सबै सूचना उपलब्ध गराउने र अनुसन्धानमा प्रभाव पार्ने सूचनाको सुरक्षा गर्न पत्रकारहरुलाई आग्रह गर्दै अपराध नियन्त्रणमा शुन्य सहनशिलता अवलम्बन गर्ने दृढता ब्यक्त गर्दै प्रहरी प्रमुख कार्कीले प्रहरी संगठनलाई पूर्ण व्यवसायिक बनाइने बताएका छन् ।
अन्तरक्रियामा उपस्थित पत्रकारहरुले प्रहरीलाई व्यवसायिक बन्न र समयमा सूचना उपलब्ध गराउन आग्रह गरेका थिए ।